शनिबार, बैशाख ८, २०८१

बंगुरको मासुमा हामी आत्मनिर्भर छौं

Bimal kumar nirmal

डा. विमलकुमार निर्मल
कार्यक्रम निर्देशक
पशु उत्पादन निर्देशनालय

० नेपालमा बंगुरको उत्पादन बढी भयो तर खपत छैन भन्छन् नि ?
बंगुरको उत्पादन बढी भएको तर खपत नभएको भन्ने कुरा ठिकै हो । तर यस्तो भएको लगभग एक बर्ष मात्र भएको छ । बंगुर व्यवसाय गर्ने बढे, नेपाल सरकारले युवा लक्षित बंगुर पलान कार्यक्रम उपलब्ध गरायो । पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालयबाट पनि बंगुर सहकारी कार्यक्रम दियौं । गत बर्षदेखि बंगुर मिसनका कामहरु भईरहेका छन् । हामीसंग पशु सेवा अनुवांसिक श्रोत संरक्षण अन्तर्गन पनि बंगुर र सुंगुरको परिणामहरु बढी भए । वास्तवमा भन्ने हो भने नेपालमा बंगुर खाने केही खास जनजातीका मानिसहरु छन् र अर्को पक्ष कुखुरा र बंगुर पाल्ने कुरा पर्यटकलाई पनि लक्षित गरिएको पनि देखिन्छ । यो बर्ष भूकम्प, नाकावन्दीका कारण पनि उत्पादित बंगुरहरु खपत नभएको हो ।
० त्यसो भए नाकावन्दीका कारणले बंगुर खपत नभएको ?
त्यो मात्र कारण हो भन्न मिल्दैन । खास गरी भारतमा बंगुर खाने मान्छे छन् तर त्यहाँ उत्पादन हुंदैन । त्यो हाम्रो लागि ठूलो बजार हो त्यसले केही असर त पक्कै गर्दछ । अर्को संसारको सवैभन्दा बढी बंगुरको मासु खाने ठूलो बजार भनेको चीन हो । त्यहां २० देखि २५ प्रतिशतसम्म बंगुरको मासु खपत हुने गर्दछ । त्यसकारण हामीले चीनलाई पनि लक्षित गरेर उत्पादन गरेका छौं । नेपालमा आउने पर्यटकका लागि र निर्यात प्रवद्र्धन नै नेपालमा उत्पादन भएको बंगुर खपन गराउने उदेश्यले हामीले काम गरिरहेका छौं ।
० नेपालमा उत्पादन भएको बंगुर निर्यात प्रर्वद्धनको कुरा गर्नु भो तर गुणस्तरका कारण सम्भव छ ?
नेपालमा एउटा चलन के रहिआयो भने केही बर्षसम्म सवैले पाठापाठीको लागि बंगुर पालन गर्ने गलत कुरा चल्यो । त्यसलाई हटाउन बंगुर पालनमा मिसन ल्याएका छौं । बंगुर पालन पनि कुखुरा जस्तै हुनु पर्दछ । एउटा किसानल पोथी पालोस्,त्यसको बच्चा अर्कोले लिएर जाओस् । फेरि अर्को त्यसबाट व्यवसाय गरोस् भन्ने सोच हो । जुन निर्यातको कुरा भयो हामी डब्लु टि ओको सदस्य हौं । त्यसले निर्यात गर्ने कुरामा असर गर्ला जस्तो मलाई लाग्दैन । नेपालमा ५० देखि ६० प्रतिशत बंगुर पालन पूर्वाञ्चल छ । त्यहाँ हामीले भ्याक्सिनेशन नियमित गर्ने र पशु स्वास्थ्यमा ध्यान दियौं र खोरेत र स्वाईनफ्लु रोग छैन भन्ने प्रमाणित गर्न सक्यौं भने हाम्रो भुटान हाम्रो लागि सुरक्षित बजारका रुपमा र निर्यातका लागि सहजता पनि पाउने छ ।
० अहिले बंगुर उत्पादन किसानहरु जति आकर्षित छन्, बजारीकरणका कारण ती किसान पलायन हुने अवस्था पनि आयो भन्छन् नि त?
वास्तवमा भन्ने हो भने यो बर्ष धेरै किसानहरुलाई धोका भएको छ । अव हामीले दुईवटा काम गर्नु पर्दछ । बजार भन्दा पनि बगुरको लागि एउटा वधशाला व्यवस्थित हुनु आवश्यक छ । परम्परागत रुपमा भाला रोपेर गरिने वधका कारण मासुको गुणस्तरमा कमी हुन आएको छ । त्यसका कारण बैज्ञानिक ढंगले बंगुर बध गर्ने र अर्को कुरा बध गरिएको बंगुर रोग नभएको फार्मको हो र मासु स्वस्थ छ भन्ने प्रमाणित भेटेरीनरी चिकित्सकबाट गराउने हो भने नेपाल कै बजार विशेष गरी ठूला स्टार होटलहरुमा नै पनि गर्न सकिन्छ । नेपालमा उत्पादित सामग्री गुणस्तर हुंदैन भन्ने दिमागमा परेको छ । त्यसलाई चिर्न सक्नु पर्दछ । हामीले बंगुर पाल्दा परम्परागत रुपमाबाट होइन बैज्ञानिक तवरले स्वस्थ रुपमा पाल्नु सक्नु पर्दछ । किसानहरु पलायन हुने अवस्था आउंदैन । जव आपूmले पालेको बंगुर स्वस्थ छ । त्यसबाट उत्पादित मासु गुणस्तरीय छ भन्ने ढुक्क आफै हुन सक्नु पर्दछ । बंगुर पालन गर्ने किसान वा व्यवसायीहरुले काठमाडौं हरेक रेष्टुरेण्टमा कम्तिमा मेनुमा बंगुरको परिकारहरु पनि राख्ने अवस्था सिर्जना गर्नु पर्दछ । त्यसो गर्न सक्यौं भने विस्तारै हामी बंगुरबाट नै राम्रो आम्दानी गर्न सक्छौं ।
० बंगुरको मासुका लागि त्यसो भए नेपाल आत्मनिर्भर छ ?
हो बंगुरका मासुका लागि हामी आत्मनिर्भर छौैं । अरु पशुकोजस्तो बंगुरको मासु आयात गर्नु पर्दैन । यसको बजार पनि फस्टाउंदै गईरहेको छ । अव हामी विश्व बजारमा पनि प्रवेश गर्न सक्छौं । तर हामीले यसमा हामीले रोग छैन, गुणस्तरको ग्यारेण्टी दिन सक्नु पर्दछ । वैज्ञानिव प्रविधिबाट वधशालामा पनि समस्या छैन भन्ने जानकारी दिने र केही कोल्ड स्टोरेजहर पनि भयो भने हामीलाई विदेश निर्यात गर्नका लागि सहज हुन्छ ।
० जस्तै भुटानको कुरा गर्नु भएको थियो सहज छ ?
सहज छ । हामीले भूटान निर्यात गर्नका लागि भारतको बाटो भएर जानु पर्दछ । भारतले भूटान जाने बाटो दियो भने अहिले बंगुर पालन गरिरहनु भएका निजी क्षेत्रबाट नै भूटानका लागि निर्यात गर्न सक्नु हुन्छ ।
० बंगुर पालन गर्ने व्यवसायीले बजारीकरण कहां गरौं भन्ने समस्या छैन ?
छैन । ठूला ठूला व्यवस्थित रुपमा बंगुर पालन गरिरहुन भएका व्यवसायीहरुले प्लेनबाट भए पनि भूटानमा बंगुरको मासु निर्यात भईरहेको छ । अन्य देशमा पनि गईरहेको छ । सवैभन्दा ठूलो बजार चीन हो । अहिले चीनले रांगाभैसीका मासु लगेको छ । चीनमा बंगुरको मासुका लागि पनि प्रयास गर्ने हो भने सक्छौं । तर उनीहरुलाई पनि बंगुरको मासु निर्यात गर्नका लागि गुणस्तरीयताको लागि प्रमाण सहित दिन सक्नु पर्दछ । यदि त्यो हामीले गर्न सक्छौं भने चीन सहज रुपमा निर्यात गर्न सकिन्छ ।
० गुणस्तरताका लागि किन ध्यान नदिएको छ ?
नेपालमा अहिलेसम्म जति उत्पादन भईरहेको छ । त्यति नेपालमै खपत हुन्छ । हेर्दा धेरै देखिन्छ तर पनि आजसम्म १० लाख बंगुर हामीसंग छैन । नेपालमा नयां पर्वहरु आउंदा बंगुरको माग बढ्दछ । बंगुर पाल्ने केही निश्चित जातहरु छन् । अहिले ब्राम्हणहरु पनि आएका छन् । बंगुरको मासु उत्पादन भएपछि समस्या बजारको छैन । खासगरी बंगुरको मासुको गुणस्तरका लागि दाना खान नदिने परम्परागत रुपकै आहार ख्वाउने गरेका कारण गुणस्तर आउन सक्दैन । गुणस्तरीय मासु उत्पादन गर्नु पर्दछ भन्ने जाँन्दा जान्दै पनि व्यवसायीहरुले ख्याल गरेको पाईदैन ।– वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, चैत्र ७, २०७२