शुक्रबार, बैशाख १४, २०८१

आँपमा किरा बढ्यो

बर्दिवास, ६ चैत । आँपका रुखमा लटरम्म पालुवा लाग्दा दङ्ग परेका महोत्तरी जिल्लाका किसान अब चिचिला खेल्ने बेलामा मधुवा(आँपमा लाग्ने किरा) रोग बढेपछि पिरोलिएका छन् ।
यसपालि आँपमा राम्रो पालुवा लागेपछि ठीकै आम्दानी भित्रिने आस पालेका किसानलाई अहिले मधुवाले पालुवा डढाएर कालो बनाउन थालेपछि पिरोलो बढेको हो । आँपमा अहिले चिचिला खेल्ने समयमै मधुवा लागेर कालो बनाएको छ ।
चैत सुरु भएसँगै मधुवा पालुवा डढाएर कालो बनाएको जिल्लाको पशुपतिनगर–२ का किसान ब्रह्मदेब महतोले बताए । आफ्नो बारीका ६० रुख आँपमध्ये १५ रुखमा मधुवाले डढाएको महतोको भनाइ छ । “मधुवा नियन्त्रणका लागि उपचार गरिए पनि रोग नियन्त्रण हुन सकेको छैन” महतोले आफ्नो आँप बगैंचामै पुगेका सञ्चारकर्मीसँग भने–, ‘तर उपचार सघन बढाइएपछि थप रुखमा भने मधुवा लागेको छैन ।’
जिल्लाका आँप खेती सघन गरिने खयरमारा, लक्ष्मीनिंयाँ, भरतपुर, बेलगाछी र भङ्गाहामा पनि मधुवाको समस्या बढेको किसानले बताएका छन् । तत्काल सघन उपचार गरेर मधुवा नियन्त्रण गर्न सकिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत्र ६, २०७२