शुक्रबार, बैशाख ७, २०८१

जहाँ गरिवी छ त्यही निर्धन उत्थान वैक पुग्छ

Janardan dev pant

जनार्दन देव पन्त
प्रमुख कार्यकारी अधिकृत
निर्धन उत्थान वैक

० निर्धन उत्थान वैकले धेरै कर्जा कृषिमा लगानी गरेको छ भन्छन् नि ?
हो हामीले जम्मा ऋण प्रवाह मध्ये ६३ प्रतिशत कृषिमा प्रवाह गरेका छौं । नेपालाम ६५ प्रतिशत भन्दा बढी जनशक्ति कृषिमा भर परेको छ । अहिलेसम्मको परिणाम हेर्ने हो भने सवैभन्दा बढी महिलाहरुको संख्या कृषिमा देखिन्छ । महिलाहरुले आयबृद्धि गराउन उहांहरुसंग भएको सवैभन्दा सजिलो सीप भनेको नै कृषि हो । थोरै लगानी गरेर व्यवसाय गर्न सकिने पनि कृषि नै हो । महिलाहरुको रुचि पनि त्यसमा नै देख्यौं र हामीले अन्य क्षेत्रमा भन्दा कृषि क्षेत्रमा बढी ऋण प्रवाह गरेका हौं ।
० नेपाल राष्ट्र वैकले १० प्रतिशत कृषिमा कर्जा अनिवार्य गरेको भएपनि बाणिज्य वैकहरुले लगानी गर्न डराईरहेको अवस्थामा तपाईहरु ६३ प्रतिशत कर्जा प्रवाह गरिरहनु भएको छ त ?
निर्धन वैकको उदेश्य भनेको गरिवी निवारण हो । नाफा मूलक हैन, काम गर्दै जांदा दिगो बनाउका लागि हामीले थोरै नाफा लिएका छौं । कर्जा भन्दैमा महंगो व्याज पनि लगाउन हुंदैन । हामीले ऋण प्रवाह गरेका बहुसंख्यक दिदीवहिनीहरु पढेलेखेका छैनन् । गरिवीका कारणले शिक्षाको मौका नपाउनु भएका ती दिदीवहिनी, जहाँ गरिवी छ त्यही निर्धन उत्थान वैक पुग्छौं । नाफा नभएपनि हामी हिमाली क्षेत्रका सवै जिल्लामा हाम्रा शाखा गठन भएका छन् । पहाडी जिल्लामा हामीले आफूलाई उपस्थित गराएका छौं हाम्रो उदेश्य नै ग्रामिण भेगका गरिव महिलाहरुलाई सम्बृद्धि बनाउने हो । त्यसकारण हामीले बढी भन्दा बढी ऋण वा कर्जा कृषिमा गरेका हौं ।
०अन्य वैकहरुले किन कृषिमा कर्जा प्रवाह नगरेका होलान् ?
बाणिज्य वैक तथा विकास वैकहरु विशेष गरी नाफा बढी भएको क्षेत्रमा लाग्नु भएको छ । त्यसैले होला सायद कृषिमा बढी कर्जा प्रवाह भएको देखिएको छैन । निर्धन उत्थान वैक स्व. डा. हरिहरदेव पन्तले नेपालमा गरिवी कसरी निवारण हुन सक्छ भनेर माइक्रोफाइनान्सलाई भ्याक्सिन जसरी काम गर्नु पर्दछ भनेर ल्याएको अवधारण भएकाले अन्य वैकहरुले र हाम्रो उदेश्य नै फरक भएका कारण पनि यस्तो भएको हुन सक्छ ।
० मुलुकका ७५ जिल्लामा पुग्नु भएको छ कारण चाहिं के हो ?
यो वैकिङ्ग पहुंच सवैलाई पुगोस्, जनतासंग भएको पैसालाई राम्रोसंग सदुपयोग गरेर आयबृद्धि गतिविधिमा लगानी होस् । जसका कारणले नेपालका दुर्गम क्षेत्रमा महिलाहरु चुलोमा नै व्यस्त हुनु भएकोले आम्दानीको श्रोत नहुने भएकाले त्यस्ता महिलाहरुलाई लक्षित गरी हामी मुलुकका ७५ जिल्ला १७६ शाखा मार्फत १ लाख ४३ हजार ८ सय ९२ महिलाहरुलाई ऋण प्रवाह गर्न मुलुकभर पुगको छौ ।
० कृषिमा ऋण प्रवाह गर्दा प्रविधि विस्तारमा कत्तिको जोड दिनु भएको छ त ?
कृषि प्रविधि विस्तार गर्नु पर्दछ भनेर नै हामीले साना मेशिन तथा उपकरणहरु हाते ट्रयाक्टर, पम्प सेट, टायल गाडाहरुमा समेत ऋण प्रवाह गर्दैै आईरहेका छौं । जसका कारण किसानले जनशक्ति अभाव वीचमा पनि आफ्नो उत्पादन बृद्धि गर्नका लागि ठूलो मद्दत पुग्दछ । अहिले कृषिकर्ममा लाग्ने जनशक्तिहरु धेरै नै कम छन् । त्यसकारण उत्पादन लागत घटाउनका लागि पनि प्रविधिमा जोड दिनु पर्दछ । प्रविधि प्रयोग गरेर नै उत्पादन लागत घटाउन सकियो भने किसानहरुले बढी लाभ लिन सक्छन् ।
० किसानहरुको ऋणको माग बढी के मा छ ?
उहांहरुले माग्ने ऋण भनेको उत्पादन क्षेत्रमा नै हो । आफूले गरिरहेको माछा पालन होस् वा गाई भैसी पालन बंगुर पालन, तरकारी खेतीमा अझ विस्तार गर्नका लागि ऋण मागेको देखिन्छ । जुन ऋणबाट तत्कालै फाइदा दिन सकिन्छ । जसले आयस्तर बृद्धि गर्नका लागि मद्दत समेत पुग्छ । एउटा किसानको आयस्तर बृद्धि भयो भने त्यसले मुलुकको आर्थिक बृद्धिमा सहयोग पु¥याउंछ र हामीले पनि गरिवी न्यूनिकरण हुने खालका व्यवसायमा महिलाहरुलाई विना धितो ऋण उपलब्ध गराईरहेका छौं ।
० नेपालमा ६५ प्रतिशत जनसंख्या कृषि छन् तै पनि हामी आत्मनिर्भर बन्न सकेका छैनौं । उत्पादन बृद्धि गर्नका लागि के गर्नु पर्ला ?
सवैभन्दा ठूलो कुरा भनेको अवसर हो । हाम्रा लागि महत्वपूर्ण विद्युत नै हो । यातायात यातायातमा पनि केवल कार । किनभने हामीसंग जलश्रोत छ तर हामीसंग सिंचाई पनि छैन विद्युत पनि छैन । हामीले हामीसंग भएका नदी नालाहरुबाट जलविद्युत उत्पादन गर्न सक्छौं । त्यसका लागि हरेक किसानहरुलाई समेत लगानी गर्ने वातावरण राज्य बनाउनु पर्दछ । जसका कारण ठूला तालहरु निर्माण गर्ने, विद्युत उत्पादन गर्ने, सडकलाई भन्दा केवलकारलाई प्राथमिकता दिने । निर्माण गरिएका जलासयहरुमा माछा उत्पादन गर्ने अनि त्यसलाई बाह्रै महिना सिंचाई सुविधानका लागि प्रयोग गर्न सक्यौं भने धेरै अवसरहरु आउनेछन् । कृषि पर्यटनमा बृद्धि हुने, होटलहरु विस्तार हुनासाथ अवसर बढ्ने छ । अन्य पेशा आकर्षित हुने छन् । अनि कृषिमा ६५ प्रतिशत जनसंख्या होइन ५÷१० प्रतिशतलाई आत्मनिर्भर बनाएर उहाँहरुले प्रविधि मार्फत कम लागतमा उत्पादकत्व बृद्धि गर्न सक्नु हुने छ । त्यसकारण जहां बढी फाइदा हुन्छ मानिसहरु त्यही बढी आकर्षित हुने हुनाले सरकारले अविलम्व त्यस्ता योजनालाई कार्यान्वयन गर्नु पर्दछ ।
० तर कृषिमा लगानी गर्न डराउंछन् नि त?
कृषिमा लगानी गर्न डराउने भन्दा पनि कृषि उत्पादनहरु सुरक्षित राख्ने अवसरहरु छैनन् । कृषि उपज सुरक्षित राख्नका लागि कोल्ड स्टोरेजहरु पर्याप्त छैनन् । दिनको दुई घण्टा विजुली दिएर त्यस्ता कामहरु कसरी सम्भव हुन्छन् । हामीले हाम्रो मुलुक चलाउने प्रमुखहरुलाई कूल ग्राहस्र्थ उत्पादनको १०प्रतिशत बृद्धि गराउने जिम्मेवारी दिने र त्यो गर्न नसके पद छोड्नु पर्ने वाध्यात्मक व्यवस्था हुनु पर्दछ । चीन र भारतको जनसंख्यालाई हेरेर उनीहरुको माग अनुरुप कृषि उत्पादकत्व बृद्धि गर्ने हो भने कृषिमा लगानी गर्न डराउनु आवश्यक नै छैन् ।
० अन्त्यमा के भन्नु हुन्छ ?
अहिले उत्पादकत्व बृद्धि नहुनेका प्रमुख कारण भनेको सिचाई नहुनु, समयमा गुणस्तरीय बीउ, मल नपाउनाले हो । त्यसकारण सरकारले सिंचाई, मल बीउ सहज रुपमा उपलब्ध गराउने अवस्था सृजन गर्नु प¥यो । त्यसो हो भने कृषिमा उत्पादकत्व बृद्धि हुन्छ र आकर्षण बढ्छ ।     – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, फाल्गुन ३०, २०७२