बिहिबार, बैशाख ६, २०८१

विपीका पालाका कृषिको बजेट २७ प्रतिशत !

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री एवं वीपी पुत्र डा शशांक कोइरालाले आफ्ना बाबु प्रधानमन्त्री भएका बेला मुलुकको कुल बजेटको २७ प्रतिशत बजेट कृषिका लागि छुट्याएको बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको पहिलो राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै डा. कोइरालाले सो कुरा बताएका हुन् ।sasank मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत कृषि उत्पादनले ओगटेको भएपनि त्यसलाई व्यवस्थित र व्यवसायिक बनाउन नसकेको समेत उनले बताए । नेपालको महत्वपूर्ण १७ लाख हेक्टर खेतीयोग्य भूमिले ओगटेको भएपनि सिंचाई सुविधा तथा कृषिमा काम गर्ने जनशक्ति अभावका कारण अहिले त्यस्ता उर्वर खेती योग्य भूमि बांझो रहिरहेको बताए ।
कृषि क्षेत्रको विकासले मात्र राष्ट्रियता बलियो बनाउने तर्क गर्दै उनले अस्थिरतालाई स्थिरता ल्याउन र गरिवी हटाउनका लागि कृषि क्षेत्र नै सवैभन्दा बलियो आधार रहेको समेत बताए । उनले नेपाली कांग्रेसको समाजवादी चिन्तन र विपीको सिद्धान्त कृषि क्षेत्र र किसानका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसबेला कृषिमा २७ प्रतिशत बजेट छुट्याएकै कारण मुलुक कृषि प्रधानदेशमा रुपमा चिनिन सफल भएको बताए । अहिले कृषि क्षेत्रको विकासका चर्का कुरा गर्नेहरुले सरकारको नेतृत्व गर्दा ५÷७ प्रतिशत भन्दा बढी बजेट ल्याउन नसक्नु दुर्भाग्य भएको समेत बताए ।
मुलुक संघीयता तर्फ उन्मूख भईरहेका बेला कृषि विकास र पशु विकालाई प्राथमिकताका साथ सञ्चालन ल्याउनु पर्ने र त्यसका लागि अहिलेदेखि नै योजनावद्ध ढंगले अगाडि बढ्नु पर्ने भएकोले सम्वधित सरोकारवाला निकायहरुले प्रतिवद्ध भएर हिड्नु पर्ने समेत खुलासा गरे ।
देशको विकास गर्नका लागि र मुलुकलाई आत्मनिर्भरता तर्फ लैजानका लागि यो पार्टी वा त्यो पार्टीभन्दा पनि राष्ट्रवादी सोचले अगाडि बढ्नु पर्नेमा समेत उनले जोड दिएका थिए । राजनीतिक अस्थिरताका कारण युवा पुस्ता पलाय भईरहेको प्रसंग कोट्याउंदै कोइरालाले स्वदेशमा नै रोजगारको अवस्था सृजना गरी कृषिमा लगानी गर्ने वातावरण र त्यसको सुरक्षाको जिम्मेवारी सरकारले लिनु पर्ने किसिमले अगाडि बढ्ने हो भने कृषिले नै मुलुकको आर्थिक समृद्धि ल्याउने बताए ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २९, २०७२