शनिबार, बैशाख ८, २०८१

गाई फार्ममा एमाओवादी अध्यक्ष दाहाल

भरतपुर । पछिल्लो समयमा राजनीतिक दलका नेतृत्व बर्गहरु कृषि विकासका कुरा गर्न थालेका मात्र होइन किसानका खेत तथा गोठमा नै पुग्न थालेका पनि छन् । राजनीतिक शीर्षस्थ नेताहरुको यो घुमाईले कृषि क्षेत्रमा आकर्षित भएकाहरुलाई केही मात्रामा भएपनि उत्साह थप्ने काम पनि गर्ने गरेको देखिन्छ । कृषि प्रधान देशका राजनीतिज्ञहरुले कृषिको विकासका लागि न विगतमा आफूलाई प्रस्तुत गर्न सके न त वर्तमानमा नै कृषि क्षेत्रको विकास गर्नका लागि दत्तचित्त भएर लागेको पाईन्छ ।
मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण हिस्सा मानिएको कृषि क्षेत्रको विकास भाषणले भन्दा पनि कामले देखाउनु पर्नेमा कसैको दुईमत हुंदैन । PRACHADN
पूर्व प्रधानमन्त्री एवं नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि चितवनको एउटा गाई गोठमा पुगे र मुस्कुराए । सायद नेपालको आर्थिक समृद्धि दाहालले त्यही गोठमा देखेर नै मुस्कुराए होलान् भन्ने अनुमान मात्र लगाउन सकिन्छ । यद्यपी त्यो मुस्कानमा मुलुकको आर्थिक समृद्धिको एउटा पाटो त होलानै ? अर्कोतिर गाई गोठ (फार्म) मा लहरै गाइहरु, कोही गाईलाई घाँस हाल्दै, कोही बाच्छाबाच्छीलाई दूध ख्वाउँदै, कसैले दूध निकाल्दैछन, कोही ओसार्दैछन् सो गोठभित्र छोरा प्रकाशको आयस्रोतको महत्वपूर्ण पाटो देखेर पनि उनी मुस्कुराएका हुन सक्छन् ।
पार्टीको कामको सिलसिलामा चितवन पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल थोरै समयको फुर्सद निकालेर छोरा प्रकाश दाहाल र साला पर्ने हिमराज पौडेलको संयुक्त लगानीको ‘मामा भान्जा लाइभ स्टक’ गाई फार्मको अवलोकन गर्न पुगेका हुन् । ढेडबर्ष अगाडि पटिहानीको सुन्दरवस्तीमा स्थापना गरेको सो गाई फार्ममा यतिखेर ५७ वटा गाईहरु पालिएका छन् । गाई फार्ममा पुग्दा विहान उठेदेखि राती ११ बजेसम्म राजनीतिक भेटघाटमा व्यस्त रहने दाहाललाई कृत्रिम जीवन जस्तो पनि बन्यो होला । तर सत्य र यथार्थ के हो भने नेपालको आर्थिक रुपान्तरणमा जाने र मुलुकलाई आत्मनिर्भरतातिर लैजानका लागि यो नै उत्तम विकल्प हो । समाजवादी क्रान्तिको कार्यदिशामा अघि बढ्ने निष्कर्षमा पुगेका दाहालले छोराको गाई फार्मको अवलोकनसँगसँगै गरिव र सर्वहाराबर्ग किसानहरुलाई यस्तै बाटोतिर लम्कन हरेक भ्रमण, भेटघाट वा भाषण कै माध्यमबाट भएपनि जोड्न सक्ने हो मुलुकमा समाजवादी अर्थतन्त्रको आधार निर्माण हुन मद्दत पुग्थ्यो कि ?

प्रकाशित मिति: शनिबार, फाल्गुन २९, २०७२