बिहिबार, चैत्र १५, २०८०

कृषिमा सरकारले उपलब्ध गराएको अनुदान टाठोबाठोलाई

भक्तपुर, २७ फागुन । जिल्लाका किसानले कृषिमा सरकारले दिने अनुदान टाठोबाठोले मात्र प्राप्त गर्ने गरेको गुनासो गरेका छन् । सरकारी निकायको लामो र झन्झटिलो कागजी प्रक्रियाका कारण वास्तविक किसानले भन्दा व्यावसायिक फार्मका नाममा सिमित टाठोबाठोले सरकारी अनुदान पाउने गरेको उनीहरूले बताएका छन् । बुधबार जिल्लामा आयोजना गरेको कृषक अन्तरक्रियामा सहभागी किसानले सरकारी अनुदानको रकम कागजी प्रक्रियाका भरमा नभई वास्तविक किसान र पीडितलाई दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । ministry-of-agriculture
युवा स्वरोजगारको नीति बने पनि अझै युवालाई कृषिमा आकर्षित बनाउन नसकेको सहभागीको गुनासो थियो । कार्यक्रममा बागेश्वरी–२ मा व्यावसायिक गोलभेँडा खेती गर्दै आउनुभएका लक्ष्मण कुँवरले सरकारी निकायबाट अनुगमन र निरीक्षण नभएको गुनासो गर्दै सरकारी निकायले समय समयमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन माग गरे ।
“किसानलाई सरकारी अनुदान प्राप्त गर्न कागजी प्रक्रिया झन्झटिलो रहेको छ” उनले भने । नगरकोट नगरपालिका–३ ताथलीमा व्यावसायिक गाइपालन गर्दै आउनुभएका रुद्रबहादुर खड्काले उत्पादनको बजारीकरणमा समस्या भएको बताउँदै विचौलियाले मूल्यमा गर्ने चलखेलले उत्पादन गर्ने किसानको बदनाम हुने गरेको बताए । समान मूल्य निर्धारणका लागि जिल्लामा सङ्कलन केन्द्रको आवश्यकता रहेको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी चित्तपोलका कृष्णबहादुर कार्कीले जिल्लामा भण्डारणको समस्या भएको बताए । “भण्डारणको अभावले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्, कुहिएर फाल्नुपर्ने अवस्था छ” उनले भने ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २७, २०७२