मङ्लबार, जेष्ठ १५, २०८१

सवैभन्दा महत्वपूर्ण कुरा भनेको नै ऐन नियमलाई कार्यान्वयन गराउनु हो 

Dr .bodha
डा. बोधनाथ अधिकारी
प्रमुख
भेटेरिनरी जनस्वास्थ्य कार्यालय

० भेटेरीनरी जनस्वास्थ्य कार्यालयको कार्यक्षेत्रका के हो ?
मानव स्वास्थ्यमा पशु तथा पशुजन्य पदार्थबाट सर्ने रोगहरु रोकथाप गर्ने उदेश्यले भेटेरीनरी जनस्वास्थ्य कार्यालय स्थापना भएको हो । खासगरी विश्व पशु स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय मार्गदशर्न अनुरुप पशुजन्य बस्तुहरुको स्वस्थ उत्पादन र त्यसलाई स्वस्थ रुपमा उपभोक्तासम्म कसरी लैजान सकिन्छ भन्ने नीति नियमको तय गर्ने जिम्मेवारी यो कार्यालयको प्रमुख जिम्मेवारी भित्र पर्दछ । अहिलेको वर्तमान सन्दर्भमा अहिले पशुजन्य उत्पादनमा लागेका फार्महरुलाई व्यवस्थित गर्ने । स्वस्थ पशुपंक्षीहरुको पालन गर्ने र त्यसबाट उत्पादन भएका फूल, दूध लगायतका उत्पादनहरु स्वस्थ विक्री र उपभोग गर्ने वातावरणका बारेमा जनचेतना जागरण गर्ने काम गर्दछौं ।
० स्वस्थ पशुपंक्षी पालन तथा त्यसका उत्पादन स्वस्थ उपभोग गर्ने विषयमा कसरी जनचेतना अभिबृद्धि गरिरहनु भएको छ त ?
यसका लागि हामीले स्वस्थ फूल,दूध मासु उत्पादनका लागि आवश्यक तालिमहरु, अभिमुखिकरण गोष्ठिहरु सञ्चालन गरिरहेका छौं । त्यसका साथै नेपाल सरकारले ल्याएको पशुवधशाला एवं मासुजांच ऐन र त्यस सम्वन्धित नियमावलीहरु लागू गर्नका लागि काम गरिरहेका छौं । यो ऐन २०६० सालमा हेटौडा नगरपालिकाबाट लागू भएको भएपनि विभिन्न कारणले कार्यान्वयन भने हुन सकेन । अहिले फेरि पशुपंक्षी विकास मन्त्रालय स्थापना भएदेखि नै गोठदेखि ओठसम्म र बधशालादेखि भान्छासम्म दूध मासुको स्वच्छता कसरी ल्याउन सकिन्छ भन्ने कुरा मन्त्रालय, विभाग र निर्देशनालय समेत प्रतिवद्ध भएर लागिरहेको अवस्था छ ।
० प्रतिवद्धता गर्ने तर कामचाहिं नुहने यो परिस्थिति त छ नि ?
त्यो परिस्थितिको परिवर्तन हुनु पर्दछ भनेर नै हामी लागेका छौं । प्रभावकारी अनुगमनका माध्यमबाट उत्पादन गर्ने र उत्पादित बस्तुहरु सहजै उपभोग गर्न मिल्ने वातावरणका लागि विभिन्न कार्यक्रम हामीले ल्याईसकेका छौं ।
० तपाईले त भन्नु भो प्रभावकारी ढंगले अनुगमन गर्ने तर मासु जांच ऐन २०५५ लागू नहुनु भनेको यो असफल भयो भन्दा हुन्छ ?
निश्चय पनि पहिलो पटक ऐन कार्यान्वय गर्न खोजिएको हेटौडामा सफल हुन सकेन । त्यो सफल नभईसकेपछि सरकारले कार्यदल नै गठन गरेर असफल हुनुको कारण सहितको प्रतिवदेन पनि बुझाईसकेको छ । त्योसँगै मासु जांच ऐन लागू गर्न के गर्न सकिन्छ भन्नका लागि छुट्टै अनुसन्धान पनि भएको छ । यसलाई तत्काल कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयको महाशाखा प्रमुखको संयोजकत्वमा एउटा कार्यदल पनि गठन भईसकेको छ । त्यो कार्यदलले विगतमा के कारणले यो सफल हुन सकेन, समस्या के रहेछ र त्यसको समाधान कसरीगर्ने भन्ने प्रतिवेदन तयार गर्दैछौं । त्यो प्रतिवेदनले निर्माणका क्रममा विभिन्न व्यवसायीहरु पनि आवद्ध भएका छौं । आशा गरौं त्यसले ऐन कार्यान्वयन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।
० हेटौडामा के कारणले असफल भएको पाउनु भो त?
हेटौडामा ऐन कार्यान्वय हुँदै गर्दा थोरै व्यवहारिक समस्याले गर्दा असफल भएको हो । सवै पशुहरुलाई एकै ठाउंमा बध गर्ने र भेटेरीनरी चिकित्सकबाट जांच गरी छाप लगाएर विक्री गर्नका लागि राखिएको मासु मात्र ऐन बमोजिम हुने भएकाले त्यस बेला केही बाहिर त्यही काट्ने र त्यही विक्री गर्ने गर्नाले वाधक बनेको थियो । एकातिर ऐन बमोजिम विक्री हुने अर्कोतिर ऐन विपरित मासु विक्री हुने गरेकाले मासु व्यवसायी वीचकै समस्याका कारण हेटौडामा यो असफल भएको हो ।
० उपत्यकामा हेर्ने हो भने हामीले प्रयोग गरिरहेका मासुजन्य पदार्थ त अस्वस्थ नै छन् भन्ने चर्चा त हुने गरेको छ नि ?
यसमा के जोड्न चाहन्छु भने भेटेरीनरी जनस्वास्थ्य कार्यालयले हाल सञ्चालन गरिरहेको कार्यक्रममा जनचेतना अभिबृद्धि र मासुजांच ऐन कार्यान्वयनका लागि सरोकारवाला निकायहरुसंग बसेर अन्र्तक्रिया गर्ने काम जारी छ । अहिले ऐन कार्यान्वयन नभईरहेको भएतापनि स्थानीय प्रशान नियमहरु मार्फत स्वस्थ मासु र मासुजन्य पदार्थका लागि बधशालाहरु स्वच्छ रुपमा सञ्चालन हुनु पर्ने, त्यहाँ उत्पादित मासु स्वस्थ र स्वच्छ हुनु पर्ने कुरालाई मध्यनजर गर्दै बाणिज्य तथा आफूर्ति विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सामेल गराई पशुऔषधी पसलहरुको समेत अनुगमन गराईरहेका छौं । त्यसै गरी पशु सेवा विभागले संयोजन गरेको एउट टिमले मासु पसल बधस्थल र बधशालाको नियमित रुपमा अनुगमन गरिरहेका छौं । त्यो अनुगमनले पशु सेवा विभागले तोकेको न्यूनतम मापदण्ड पूरा भएको छ कि छैन भन्ने हो । त्यहा बध गरिएका पशु हरु स्वस्थ छ कि छैन, उत्पादित मासु र सञ्चय गरेर राखिएका मासुको गुणस्तर के छ भन्ने कुराको जांच पनि गर्दैै आईरहेका छौं ।
० अहिले मासु स्वस्थ छ कि छैन भन्ने कुराको बढी चर्चा हुनथालेको छ तर बध गरिएका पशुबस्तु कति स्वस्थ थिए भन्ने कुरा हेर्नु पर्दैन ?
एकदमै सहि कुरा उठाउनु भयो । त्यही भएर नै हामीले पशु बधशाला र मासु जांच ऐन नियममा बध गर्नु पर्ने पशुपंक्षीहरुको बध गर्नु अघि जांच गर्ने र वध गरिसकेपछि त्यसका भित्र अंगप्रत्यगहरुमा कुनै रोगहरु देखिए भने त्यसलाई उपभोग गर्न नमिल्ने भनि नष्ट गर्न लगाउंछौं भने बध अघि र बध पछि मासु जांच गरेर उपभोग गर्न मिल्नेलाई मात्र हामीले स्वीकृत गर्ने गर्दछौं ।
०समस्या धेरै छन् तर समाधान गर्नु पनि छ अव सकरी गर्ने त ?
त्यसका लागि ऐन नियम ल्याउनु आवश्यक छ । ऐन नियम कार्यान्वय भईसकेपछि बध अघि र बध पछि गरिने परिक्षण अक्षरश पालन गर्नु पर्ने हुन्छ । अहिले विद्यमान अवस्थामा हामीले पशुको बध गर्नु अगाडि जुन ठाउँमा बध गर्न ल्याईने हो जस्तै फार्महरुबाट पशुबस्तु बध गर्न ल्याईएको छ भने त्यस्त फार्महरुमा जिल्ला पशु कार्यालयहरुबाट बेला बेलामा चेकजांच गर्ने गरिएको हुन्छ । फार्म सञ्चालन गर्नेहरुलाई जैविक सुरक्षाका सम्पूर्ण मापदण्डहरु पूरा गरेको हुनु पर्दछ । भने मुलुकबाहिरबाट ल्याईने पशुबस्तुहरुको चेकजांचमा क्वारेण्टाईनले गर्ने गरेको हुन्छ । सवैभन्दा महत्वपूर्ण कुरा भनेको नै ऐन नियमलाई कार्यान्वयन गराउनु नै हो । – वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: आइतवार, फाल्गुन २३, २०७२