बिहिबार, बैशाख १३, २०८१

छत्तिस सालका कांग्रेसी सभापति कागती खेतमा रमाउंदै

मोरङ, फागुन । मोरङ डंग्राहाका ढालुराम माझीले कागती खेती गरेर विगत चार वर्ष देखि वार्षिक २५ लाख रुपैयाँ कमाउँदै आएका छन् । विसं २०३६ सालमा नेपाली काँग्रेसको क्षेत्र नं ६ का सभापति हुनुभएका माझीले पार्टीहरू देश बनाउने भन्दा बढी आन्तरिक झगडामा लागेको देखेपछि राजनीतिबाट खिन्न भएर २०६४ सालदेखि डंग्राहा–३ मा दुई बोट कागतीको विरुवा रोपेर कागती खेती सुरु गरेको बताउंछन् ।
माग अनुसार कागती खेती गर्न नसकेपनि अहिले आफूले उत्पादन गरेको कागतीले सुनसरी र मोरङको स्थानीय बजारको माग धान्ने गरेको उनी बताउंछन् । यसबाट उनलाई वार्षिक २५ लाख रुपैयाँभन्दा बढीको आम्दानी हुने गर्छ ।
अहिले उनको दुई बिगाह जमिनमा धनकुटे पारीपात्ले, लाम्चो, गोलो र मद्रासी चार जातका कागती फलिरहेका छन् । कागती खेतीबाटै उनको चार जनाको परिवार अहिले ढुक्कसँग चलिरहेको छ । त्यस्तै, उनको छोरा कृषिमा स्नातक अध्ययन गर्दैछन् । एक पटक रोपेपछि वर्षौसम्म आम्दानी लिन सकिने र रोग किरा तथा अन्य समस्या पनि कम हुने हुँदा कागती खेती नेपाली किसानका लागि निकै लाभदायक रहेको माझीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १९, २०७२