मङ्लबार, बैशाख ११, २०८१

किसान कल सेण्टर चल्यो तर विज्ञ अभाव !

काठमाडौं,फागुन । गत आईतबारबाट कृषि विकास मन्त्रालयले किसानहरुका समस्या सुन्ने र टेलिफोनबाटै समस्या समाधानका गर्ने उदेश्य बोकेर सञ्चालनमा आएको किसान कल सेण्टरमा दोस्रो दिनबाट नै कृषि विज्ञहरुको खडेरी लाग्न थालेको छ । कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले पर्वतका किसानले उठाएको प्रश्नको उत्तर दिंदै शुरु गरिएको किसान कल सेण्टर उद्घाटनको पहिलो दिन ६ जना किसानहरुले आफ्नो समस्या राखेका थिए । call center
हरेक आईतबार, मंगलबार र विहिबार विहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने सो कल सेण्टरमा किसानहरुले समस्या राख्ने दोस्रो दिन २७ जना किसानहरुले विभिन्न जिल्लाबाट आफ्नो कृषि बाली तथा पशुमा देखा परेको समस्याहरु राखेका थिए । सिंचाई, मत्स्य तथा पशु सेवाका विषयमा किसानहरुले राखेका जिज्ञासा भने पूरा हुन सकेन । समस्या समाधान हुन नसकेको किसानहरुलाई सो विषयमो विज्ञ आएका बेला कल सेण्टरमा रहेका कर्मचारीले फोन गरेर जिज्ञासा पूरा गर्ने जानकारी दिए ।
मुलुकभरका किसानहरुले ठूलो आशा र अपेक्षा राखेर कृषि विज्ञहरुसंग कुरा गर्ने र आफ्नो समस्या समाधान होला भन्ने सोचले किसान कल सेण्टरमा फोन गर्ने गरेको भएपनि कल सेण्टरमा विषयगत रुपमा विज्ञहरुको अभाव रहेको देखिन्छ । गत आईतबारको तुलनामा मंगलबार किसान कल सेण्टरमा फोन गर्ने किसानहरुको संख्या बढेको भएपनि वास्तविक विज्ञ नभएका कारण किसानहरु निराश भएको बताइएको छ ।
कृषि सूचना तथा सञ्चार केन्द्रमा १० लाख लगानी गरेर स्थापना गरिएको किसान कल सेण्टरमा कृषि विज्ञ भन्दा पनि प्राविधिक सहायकहरुलाई नै प्रयोग गर्न खोजिएको आरोप लागेको छ । निजामती सेवा ऐन अन्तर्गत २४ घ बाट बढुवा भएर प्रसार अधिकृत भएका व्यक्तिलाई विज्ञका रुपमा प्रस्तुत गर्न खोजिएकाले कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेलले सपना बुनेको किसान कल सेण्टरमा कृषि विज्ञहरुको अभाव खड्किन थालिसकेको छ ।
एक लाख खर्च नभएको किसान कल सेण्टरमा दश लाख खर्च गरिएको भनिएता पनि दश लाख खर्च हुने कुनै उपकरण समेत छैन । किसान कल सेण्टर कृषि विज्ञहरुकै अभावका कारण केही दिन भन्दा पर सञ्चालन हुनेमा कृषि सूचना कै एक कर्मचारीले शंका व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १८, २०७२