बिहिबार, बैशाख १३, २०८१

कृषि मन्त्री गजुरेल विरुद्ध नार्कका बैज्ञानिक सर्वोच्च अदालतमा

काठमाडौं । कृषि मन्त्री पदेन अध्यक्ष रहने नेपाल कृषि अनुसन्धान परिषद् नार्कका करीव २० जना बैज्ञानिकहरु आफूहरु माथि अन्याय गरेको भन्दै कृषि मन्त्री हरिबोल प्रसाद गजुरेल विरुद्ध सर्वोच्च अदालत पुगेर मुद्दा दर्ता गराएका छन् । उनीहरुले नार्क परिषद् कार्यकारी समितिको २४८ औ बैठकबाट बढुवा नियुक्ति दिनका लागि २०७२ कार्तिक १७ गते निर्णय गरिसक्दा पनि कृषि मन्त्री गजुरेलले लोकसेवा आयोगको सिद्धान्त एवं परिषद्को कर्मचारी प्रशासन विनियम एवं पदपूर्ति समितिको कार्यविधि बमोजिम बढुवा भएका बैज्ञानिकहरुको बढुवा रोकेको भन्दै सर्वोच्चको ढोका ढकढक्याउन पुगेका छन् ।
अदालत पुगेका कृषि बैज्ञानिकलाई बढुवा दिने निर्णय भए पनि बढुवा नियुक्ति नदिई नियम, कानून विपरित कार्य गरी मन्त्रालयले २०७२ कार्तिक १८ गतेको चलानी नं २११ को पत्र मार्फत कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषि बैज्ञानिकहरुलाई नियुक्ति नदिनु भन्ने निर्देशन आएको नार्क प्रशासनले बताएको छ ।
प्रतिष्पर्धाबाट बढुवा भएका कृषि बैज्ञानिकहरुको बढुवा नियुक्ति रोक्ने अधिकार प्रचलित कुनै पनि कानूनले कृषि विकास मन्त्रीलाई नदिएको उनीहरुले आरोप लगाएका छन् । कृषि मन्त्री गजुरेलले बढुवा भएका बैज्ञानिकहरुलाई नियुक्ति दिनबाट रोकेर बैज्ञानिकहरुलाई काम गर्ने मनोवल घटाएको उनीहरुले आरोप समेत लगाएका छन् ।
कृषि मन्त्री गजुरेलले बढुवा भएका कृषि बैज्ञानिकको बढुवा रोकेको विषयमा भने मन्त्रीको निजी सचिवालयले मन्त्रीको मनसाय बढुवा भएका बैज्ञानिकहरुको बढुवा रोकेको नभै सो बढुवा गलत नियमले भएकाले हाललाई बढुवाको पत्र नदिने आग्रह गरेको बताएको छ । सचिवालय स्रोतले भन्यो कार्यकारी निर्देशकलाई समेत बढुवाको नियुक्ति दिने विषयमा निर्णय नगराउनु भन्दा भन्दै कार्यकारी निर्देशनले जर्वजस्ती रुपमा परिषद् समितिको वैठकबाट सो निर्णय गराएको उल्टो आरोप लगाएका छन् । अहिले कृषि विकास मन्त्रालय र नार्कको जुहारी कृषि बैज्ञानिकहरुको विषयलाई लिएर चलिरहेको छ । मन्त्रालय र कृषि बैज्ञानिकहरुको मुद्दा छिनोफानो गर्नका लागि अदालते आगामी फागुन १९ गते कृषि मन्त्री गजुरेलका नाममा सक्कल कागजात सहित उपस्थितका लागि बोलाएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १३, २०७२