शनिबार, बैशाख ८, २०८१

स्याउका बिरुवाबाट अन्ठाउन्न लाख

जुम्ला, १३ फागुन । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत वितरित ७४ हजार स्याउका बिरुवाबाट जिल्लालाई रु ५८ लाख आम्दानी भएको छ । जिल्लाका ५१ सक्रिय नर्सरीबाट तीन लाख स्याउका बिरुवा उत्पादन भएकामा ७४ हजार बिरुवा कृषि कार्यालयको सिफारिसमा वितरण गरिएको हो । वितरित बिरुवामा सात हजार ७३५ साधारण कार्यक्रम, २९ हजार २५० स्याउ आत्मनिर्भर कार्यक्रम र ३७ हजार बिरुवा जिल्ला बाहिर पठाइएको वरिष्ठ कृषि विकास अधिृकत विष्णुबहादुर महतले बताएका छन् ।
साधारण कार्यक्रमतर्फ प्रतिबिरुवा रु दुईका दरले रु १५ हजार ४७०, आत्मनिर्भर कार्यक्रमअन्तर्गत प्रतिबिरुवा रु ४० का दरले ११ लाख ७० हजार र जिल्ला बाहिर निर्यात गरिएको प्रतिबिरुवाको औसतमा रु १२५ का दरले रु ४६ लाख २५ हजार आम्दानी भएको छ । जिल्ला बाहिर प्रतिबुटा रु १७५ मा बिक्री वितरण गरिएको स्थानीय कृषक बेलबहादुर शाहीले बताए । स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत १०० हेक्टर र साधारण कार्यक्रमतर्फ २५ हेक्टर जमिनका लागि ३६ हजार ९८५ बिरुवा वितरण गरिएको हो ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १३, २०७२