शुक्रबार, चैत्र १६, २०८०

दर्ता नै नभएका पशुपंक्षीका औषधीहरु धमाधम आयात

विराटनगर, फागुन । केही साता अगाडि मात्र पशुपंक्षी औषधीको आयात एवं विक्री वितरण गर्ने एग्रोभेटहरुको छाता संगठनमा रुपमा स्थापित पशुपंक्षी औषधी व्यवसायी संघको दशौं महाधिबेशन काभ्रेको धुलिखेलमा भव्यताका साथ सम्पन्न भयो । सो सम्मेलनले औषधी व्यवसाय गर्नेहरुको नेतृत्व पनि चयन ग¥यो । धुलिखेलको एक रिसोर्टमा भव्य रुपमा सम्पन्न भएको भनिएको सो सम्मेलनमा जिल्लादेखि केन्द्रसम्ममा पशु औषधीको आयात तथा विक्री वितरण गर्ने व्यवसायीहरुमा मात्र होइन मुलुकका गन्येमान्ये एवं सरकारी जागिरे पशु चिकित्सकहरुदेखि निजी क्लिनिक सञ्चालन गर्ने पशुचिकित्सकहरु सम्मको उपस्थिति थियो । सो कार्यक्रममा पशुपंक्षीका औषधी व्यवसायलाई मर्यादित र पारदर्शिता बनाउने निचोड पनि निकाल्यो । नयां निर्वँचित पदाधिकारीहरुले त्यसका लागि प्रतिवद्धता पनि सार्वजनिक गरे ।

krishi 28

तर विडम्वना मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने पशु औषधीहरु आयातदेखि विक्री वितरणसम्म अहिले मनलाग्दो किसिमले भईरहेको देखिन्छ । जसका कारण केही समयभित्रै विकराल समस्या उत्पन्न हुने संकेत देखिएको केही पशुचिकित्सक एवं औषधी व्यवसायीहरुले नै स्वीकार गर्दै छन् ।
विशेष गरी जनमानसले हरेक दिन प्रयोग गर्ने पशुजन्य पदार्थमा समेत प्रभाव पर्ने किसिमले अहिले देशका विभिन्न नाकाबाट औषधी व्यवस्था विभागमा स्वीकृत नभएका पशुजन्य औषधी धमाधम गैरकानूनी रुपमा भित्रिरहेका छन् । पूर्वाञ्चल क्षेत्रको मेची भन्सार तथा जोगबनी भन्सारबाट नेपालमा दर्ता नै नभएका पशुपंक्षीका औषधीहरु आयात भईरहंदा पनि सरोकारवाला निकाय औषधी व्यवस्था विभाग कानमा तेल हालेर बसिरहेको देखिन्छ । त्यस्ता औषधी आयात गर्नेहरुमा नेपालमा पशुपंक्षीका औषधी आयात गर्ने एउटा गिरोह नै संलग्न भएको नाम नबताउने शर्तमा काठमाडौंमा पशुऔषधी व्यापार गरिरहेका एक व्यवसायीले कृषिलाई बताए । ती व्यवसायीका अनुसार अवैधानिक रुपमा दर्ता नभएका गुणस्तरहीन औषधी आयात गर्नेहरुमा काठमाडौंमा पशु औषधीहरुको ठूलो मात्रामा कारोबार गर्ने व्यवसायीहरुले नै सो क्षेत्रमा सानो कार्यालय खडा गरेर भन्सार अधिकृतहरुलाई प्रलोभनमा पारी औषधी भित्र्याउने गरिएको बताए ।
एक सय भन्दा बढी पशुपंक्षकिा औषधी आयात गरी देशभर विक्री वितरण गर्ने एग्रोभेटहरुको सवैको अवस्था उस्तै रहेको भन्दै कतिपयले त नीति नियम मिच्दै एग्रोभेट सञ्चालन गरिरहेको समेत उनले खुलासा गरे । भ्याली एग्रो भेट इटहरी, भेटरीनरी मेडिसिन वल्र्ड विराटनगर, एग्रो भेटेरीनरी सप्लायर्स विराटनगरले त खुले आम नै त्यस्ता दर्ता नभएका औषधीहरु विक्री वितरण गरिरहेको देखिन्छ ।
यस्ता दर्ता नभएका गुणस्तरहीन पशुपंक्षी औषधी भन्सारबाट कसरी सहज रुपमा आउछ भन्ने प्रश्नमा विराटनगरका एक एग्रोभेट सञ्चालक भन्छन्, “देश यही हो कुरा मिलाएपछि जे पनि ल्याउन सकिन्छ । जावो पशुपंक्षी औषधी के ठूलो भो र”। उनकै भनाईलाई उदृत गर्ने हो भने भन्सारका प्रमुखलाई आर्थिक प्रभावमा पारेपछि त्यस्ता औषधीहरुको भन्सार समेत नतिरी भित्रिने खुलासा भएको छ । मुलुकभरका कतिपय एग्रोभेटहरुमा अहिले त्यस्ता औषधीहरु भेटिने गरेका छन् । यस विषयमा मेची र जोगबनी भन्सार कार्यालयका प्रमुखहरु बोल्न चाहंदैनन् । पशुऔषधी कसरी भित्रन्छन् दर्ता नभई कसरी गए भन्ने विषयमा उनीहरु भन्छन् जसले ल्यायो त्यसैले सोध्नुस् ठाडो जवाफ दिने गरेका छन् ? सो सम्वन्धमा पशुपंक्षी औषधी व्यवसायी संघका अध्यक्षले यसबारे आफू अनभिज्ञ रहेको बताउंदै यसको जिम्मेवारी पशु सेवा विभाग र औषधी व्यवस्था विभागले नै लिनु पर्ने बताउंछन् । यी दुई संस्थाले नै पशुपंक्षी औषधीको ऐन नियम बनाउने देखि अनुगमन समेत गर्ने अधिकार भएकाले अनुगमनमा कडाई गर्नु पर्ने बताउंछन् । हामी व्यवसायी पशुपंक्षी औषधी व्यवसायलार्य मर्यादित र पारदर्शि कसरी बनाउने भन्नेमा लागि रहेको धारणा व्यक्त गर्दछन् ।
औषधी व्यवसाय दर्तादेखि आयात गर्नेसम्मको अधिकार बोकेर बसेको औषधी व्यवस्था विभागमा बबरमहलमा गएको तीन बर्ष यता कुनै पनि नयां औषधी दर्ता भएको देखिंदैन । विभागमा पशुपंक्षीका लागि दर्ता भएका औषधीको विवरण माग्न जांदा २०६९ सालसम्म दर्ता भएको लिष्ट दिने बाहेकको केही काम हुंदैन । २०६९ साल पछि दर्ता भएका पशुपंक्षकिा औषधीहरु विवरण माग्दा अर्को हप्ता आउनुस् भन्दै टार्ने गरेरका छन् ।
पशुपंक्षीमा कुनै महामारी फैलियो भने सवैभन्दा बढी जिम्मेवार लिनु पर्ने सरकारी कार्यालय पशु सेवा विभागका महानिर्देशक डा केशवप्रसाद प्रेमीका अनुसार विभागले फिड सप्लिमेण्ट बाहेक अरु औषधी आयात गर्न इजाजत दिने अधिकार नभएको बताउंछन् । औषधीको सम्पूर्ण जिम्मेवारी औषधी व्यवस्था विभागले नै गर्ने हुंदा पशुपंक्षीको औषधी विक्री वितरण गर्ने, आयात गर्नका लागि स्वीकृत दिने निकायका रुपमा ऐनले नै औषधी व्यवस्था विभाग तोकेको बताउंछन् ।
पशुपंक्षीको औषधी आयात गर्नेदेखि विक्रीका लागि एग्रोभेट सञ्चालनका लागि स्वीकृत गर्ने अधिकार औषधी व्यवस्था विभागसंग भएको र अनुगमन गर्ने जिम्मेवारी पशु सेवा विभागको रहेकोले कानूनी रुपमा नै मिल्दो नदेखिएको प्रेमीको भनाई रहेको छ । पशुपंक्षीका औषधी मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यसका लागि बेग्लै नीति बनाएर कार्यान्वय गर्न तर्फ पशु सेवा विभाग लागिरहेको प्रेमीको भनाई छ । -शैल शाह

प्रकाशित मिति: शनिबार, फाल्गुन ८, २०७२