शुक्रबार, चैत्र १६, २०८०

पशुसेवा केन्द्रहरूले प्रभावकारी सेवा दिएनन्

पाँचथर,७ फागुन । जिल्ला पशुसेवा कार्यालय पाँचथर मातहतमा रहेका पशुसेवा केन्द्रहरूले प्रभावकारी सेवा दिन नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । ‘सेवा केन्द्र’ भनिए पनि सेवा केन्द्रले सेवा दिन नसकेको गुनासो सरोकारवालाहरूले गरेका हुन् । जिल्ला पशुसेवा कार्यालय पाँचथरले हालै फिदिममा आयोजना गरेको वार्षिक योजना तर्जुमा गोष्ठीमा सहभागी जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पशु विकाससँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न गाउँबाट आएका पशुपालकहरूले यस्तो गुनासो गरेका हुन् ।
“समयमै पशुको उपचार हुन नसक्दा अकालमा पशुको ज्यान गइरहेको छ” सेवा केन्द्रको सेवा प्रभावकारी नभएको गुनासो गर्दै नेकपा (एमाले) पाँचथरका सचिव तीवेन्द्रराज चापागाईंले भने “सेवा केन्द्रमा भएका प्राविधिकहरू बोलाउँदा नआउने र आइहाले पनि ढिलो गरी आउने हुँदा विशेषतः बच्चा जन्माउन नसकेर पशुको अकालमा ज्यान गइरहेको छ ।”
कार्यक्रममा सहभागी नेकपा (क्रान्तिकारी माओवादी)का सचिव विशाल रसाइलीले पशुसेवा केन्द्रहरूमा प्राविधिक नहुँदा गैरसरकारी प्राविधिकहरू खटाउनुपरेको र उनीहरूले महँगो शुल्क लिने गरेको आफूले पाएको बताए । “बाख्रा, भेडा, सुँगुरलगायत पशुको उपचारमा पशुको मूल्यजति नै उपचार शुल्क लाग्ने भएपछि किसानले बरु पशु नै मरोस् भन्न थालेका छन्” – रसाइलीलेभने ।
कार्यक्रममा सहभागी कृषकले पशुसेवा कार्यालयमा प्राविधिक नहुँदा सरकारी सेवाबाट वञ्चित हुनुपरेको गुनासो गरे । “गाई, बाख्रालगायत पशुका लागि नाम्लेको सामान्य औषधि पनि सरकारी सेवा केन्द्रबाट पाउन सकिएको छैन” – जिल्लाको लिम्बाबाट आएका एक किसानले कार्यक्रममा गुनासो गरे ।
सहभागीहरूले जिल्ला पशुसेवा कार्यालय पाँचथरसँगको समन्वयमा उन्नति परियोजनाले कृत्रिम गर्भाधानका लागि प्राविधिकहरू उत्पादन गरे पनि कृत्रिम गर्भाधानको सेवा प्रभावकारी हुन नसकेको बताए । कृत्रिम गर्भाधानको सेवा उपलब्ध हुनसके पशुपालक किसानले ठूलो राहतको अनुभूति गर्ने उनीहरूको तर्क थियो ।
यस्तै सहभागीहरूले पशुसेवा कार्यालयले आगामी वर्षको योजना तर्जुमा गर्दा पशुपालनलाई व्यावसायिक बनाउनेतर्फ ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।
सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूले पशुपालनमा सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने भएपनि त्यसको पर्याप्त जानकारी किसानले प्राप्त गर्न नसकेको उनीहरूले बताए । सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने, उन्नत जातका पशुको पालनका लागि प्राविधिक सहयोग गर्ने र सेवाकेन्द्रको सेवा प्रभावकारी हुने हो भने पशुपालन क्रमशः व्यावसायिक हुँदै जाने सहभागीहरूको भनाइ थियो ।
कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय पाँचथरका प्रमुख डा मोगलप्रसाद साहले आगामी आवमा उक्त कार्यालयका कार्यक्रमहरूका बारेमा प्रस्ट्याउँदै आगामी आव २०७३÷७४ मा रु तीन करोड ४५ लाख बजेट प्राप्त हुने जानकारी दिए । साहले सरुवा प्रक्रियाका कारण सबै सेवा केन्द्रमा पशु स्वास्थ्य प्राविधिकहरूको व्यवस्था गर्न नसकिएको बताउँदै रिक्त स्थानमा पदपूर्तिका लागि प्राविधिक माग गरिएको बताए । उनले पशुपालनलाई व्यावसायिक बनाउने कार्यक्रमहरू कार्यालयले तय गर्दै जाने प्रतिबद्धता पनि जनाए । दुग्ध र पशुमा जिल्लालाई आत्मनिर्भर बनाउने योजना कार्यालयको रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ७, २०७२