शुक्रबार, चैत्र १६, २०८०

बैंक तथा वित्तीय संस्थाले ठगी गरेको आरोप

काठमाडौं, ७ फागुन।राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले बहुमुखी मोडेलबाट नेपालमा पशुपालन तथा दूध उत्पादनको क्षेत्रमा विकास गरी राष्ट्रलाई समग्र कृषिमा आत्मनिर्भर बनाउन सकिने बताएको छ । पशुको कम्पोष्ट मल प्रयोग गरी अर्गानिक खाद्यान्न, फलफूल, तरकारी उत्पादनबाट मुनाफा लिई दूध उत्पादनको क्षेत्रमा फास्ट ट्र्याकमार्फत विकास गर्न सकिने राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले बताएका छन् ।
राज्यले कृषकलाई सही सम्बोधन गर्न सके आगामी तीन वर्षभित्र मुलुक कृषिमा आत्मनिर्भर बन्ने अध्यक्ष न्युरेले ठोकुवा गरे । नेपालमा दूध उत्पादक क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनको नौ प्रतिशत क्षेत्र ओगटेको बताउँदै उनले व्यावसायिक पशुपालन तथा दूध उत्पादनको व्यापक सफलताको सम्भावना रहेको बताए । उनले पाँच जिल्ला एक कृषि उत्पादनलाई प्रयोग गरी शिक्षित युवा शक्तिले देशैमा कमाउने वातावरण तयार गर्न राज्यलाई आग्रह गरे ।
नेपाल राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न उद्योगी, संघसंस्था तथा नेपालका राजनैतिक दलहरुले कृषि पेसालाई सकारात्मक दृष्टिकोणबाट हेर्नसके मुलुक विकासको गतिमा दगुर्ने उनको भनाइ थियो । नेपाल सरकारले कृषि बीमा कार्यक्रम लागू गरी केही हौसला प्रदान गरेको भए पनि बैंक तथा वित्तीय संस्थाले आफूहरुमाथि ठगी गरेको अध्यक्ष न्युरेले आरोप लगाए ।
बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको आदेशअनुरुप सरकारको निर्णयका आधारमा सर्वसुलभ कृषि कर्जा प्रक्रियामा किसानलाई सहभागी बनाउनु पर्नेमा अध्यक्ष न्युरेको जोड छ । बैंक तथा वित्तीय संस्थाले कृषकलाई दुःख दिने, कमिशनबिना ऋण नदिने प्रवृत्तिको विकास भएकाले किसान संकटमा परेको कृषक समाज नेपालका केन्द्रीय सदस्य खगराज पाठकले आरोप लगाए ।
नेपालमा व्यावसायिक पशुपालन दूध उत्पादन गर्ने फार्महरुको संरक्षण नभए देशको आर्थिक उन्नति हुन नसक्ने बताउँदै सदस्य पाठकले देशैभरिका व्यावसायिक पशुपालक किसानहरु, दूध सहकारीहरु, दूध उद्योगहरुलाई सकारात्मक सहयोग गर्नसमेत सबै निकायहरुसँग आग्रह गरेका छन् ।
यसैबीच यही चैत्र १२ गते राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालको राष्ट्रिय साधारण सभा चितवनमा हुनेभएको छ । साधारण सभाको तयारी थालिएको केन्द्रका अध्यक्ष न्युरेले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ७, २०७२