शुक्रबार, बैशाख ७, २०८१

झापामा सिँचाइका लागि पैतालिस लाख

झापा, ६ फागुन । सिंचाई विना कृषि उत्पादनमा बृद्धि नहुने कुरालाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालयले कृषि उत्पादन हुने क्षेत्रहरुलाई लक्षित गरी चालु आवमा साना सिँचाइ आयोजनामा रु ४५ लाख ४५ हजार खर्च गर्ने भएको छ ।
सिंचाईका लागि जिल्ला कृषि कार्यालयले अनुदान दिने भएपछि जिल्ला भरिका किसानहरुबाट मोटर बोरिङका लागि ८६, पम्पसेटका लागि १७, इनार बोरिङका लागि ६, सतह सिँचाइका लागि ११ र पाइप विस्तारका लागि दुई वटा निवेदन परेको थियो ।
अनुदान वितरण गर्नका लागि कृषि विकास समितिको सभापति स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा बसेको बैठकले बोरिङ पम्पसेटका लागि १५ जनालाई रु ५० हजारका दरले तथा बोरिङ मोटरका लागि ४४ जनालाई रु ४० हजार दरले अनुदान दिने निर्णय समेत गरेको छ ।
सतह सिँचाइ पाइप खरिद सात जनालाई रु एक लाखका दरले, इनार बोरिङ दुई जनालाई रु ७० हजारका दरले, इनार बोरिङ घर निर्माण मोटरको लागि दुई वटाका लागि रु ९० हजार, सहकारीमा रु दुई लाख ८५ हजार र सहकारी योजनामा दुई वटामा रु ८४ हजार अनुदान दिने निर्णय भएको छ ।
अनुदानले पम्पसेट बोरिङबाट ६० बिगाहा, मोटर बोरिङबाट २१० बिगाहा, सतह सिँचाइबाट चार हजार बिगाहा र इनार बोरिङबाट ३० बिगाहा खेतीमा सिँचाइ सुविधा पुग्ने वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ६, २०७२