शुक्रबार, चैत्र १६, २०८०

प्यूठानमा माछापालन व्यवसाय फस्टाउँदै

प्यूठान । युवाहरुको लागि स्वरोजगारको महत्वपूर्ण र सहज कृषि क्षेत्रका रुपमा माछा पालनलाइ लिन थालिएका कारण पछिल्लो समय प्यूठान जिल्लामै व्यावसायिक माछापालन गर्ने किसान बढ्दै गएका छन् ।
कृषि व्यवसायमा संलग्न कृषक माछाबाट मनग्य आम्दानी हुन थालेपछि अन्य कृषि उत्पादन भन्दा किसानहरु यस तर्फ आकर्षित हुँदै गएका हुन् । दश वर्षयता माछापालन गर्दै आएका मरन्ठाना–४ का दिनबहादुर जीसी जिल्लाकै उत्कृष्ट माछापालक कृषक बनेका छन् । सुरुमा एक रोपनी जग्गामा माछा पालन सुरु गरेका जीसी अहिले यही व्यवसायबाट प्रशस्त आम्दानी गर्न सफल सफल समेत भएका छन् ।
सुरुमा धान खेती गरेको एक रोपनी जग्गामा माछापालन सुरु गरेको थिएँ उनले । कमन कार्प जातका ५०० भुराबाट माछापालन व्यवसाय थालेका जीसी सुरुको अवस्थामा ज्ञान नहँुदा मनग्य आम्दानी गर्न नसकिएको समेत बताए । अहिले वार्षिक रु पाँच लाखसम्मको आम्दानी हुन थालेको उनको भनाइ छ । बाह्र रोपनी जग्गामा १० वटा पोखरी बनाई उनले माछापालन गर्दै आईरहेका छन् ।fish
प्रतिकिलो रु ४०० मा माछा बिक्री गर्दै आएका जीसी जिल्लाका विभिन्न ठाउँबाट माछा किन्न घरमै ग्राहक आउने गरेको बताउँछन् ।
जिल्लाको झिमरुक उपत्यका तथा माडि क्षेत्र माछापालनका लागि उत्तम क्षेत्र मानिन्छ । वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरी अनुदान दिन थालिए पछि जिल्लाका करिब दुई सय कृषक माछापालन व्यवसायमा प्रत्यक्ष रुपमा जोडिएका बताउँछन् ।
“पछिल्लो आवमा रु २५ लाख अनुदान उपलब्ध गराएका छौँ” उनले भने । दुई सय वर्गमिटर क्षेत्रफलको आधारमा रु २० हजारका दरले मत्स्यपालन र पोखरी निर्माणका लागि अनुदान दिने गरिएको छ । जिल्लाको मरन्ठाना, खलङ्गा, ओखरकोट, बाँदीकोट, चुँजा, तुषारा, बिजुली, धर्मावती, बिजुवार र बर्जिवाङका किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ४, २०७२