प्यूठान । युवाहरुको लागि स्वरोजगारको महत्वपूर्ण र सहज कृषि क्षेत्रका रुपमा माछा पालनलाइ लिन थालिएका कारण पछिल्लो समय प्यूठान जिल्लामै व्यावसायिक माछापालन गर्ने किसान बढ्दै गएका छन् ।
कृषि व्यवसायमा संलग्न कृषक माछाबाट मनग्य आम्दानी हुन थालेपछि अन्य कृषि उत्पादन भन्दा किसानहरु यस तर्फ आकर्षित हुँदै गएका हुन् । दश वर्षयता माछापालन गर्दै आएका मरन्ठाना–४ का दिनबहादुर जीसी जिल्लाकै उत्कृष्ट माछापालक कृषक बनेका छन् । सुरुमा एक रोपनी जग्गामा माछा पालन सुरु गरेका जीसी अहिले यही व्यवसायबाट प्रशस्त आम्दानी गर्न सफल सफल समेत भएका छन् ।
सुरुमा धान खेती गरेको एक रोपनी जग्गामा माछापालन सुरु गरेको थिएँ उनले । कमन कार्प जातका ५०० भुराबाट माछापालन व्यवसाय थालेका जीसी सुरुको अवस्थामा ज्ञान नहँुदा मनग्य आम्दानी गर्न नसकिएको समेत बताए । अहिले वार्षिक रु पाँच लाखसम्मको आम्दानी हुन थालेको उनको भनाइ छ । बाह्र रोपनी जग्गामा १० वटा पोखरी बनाई उनले माछापालन गर्दै आईरहेका छन् ।
प्रतिकिलो रु ४०० मा माछा बिक्री गर्दै आएका जीसी जिल्लाका विभिन्न ठाउँबाट माछा किन्न घरमै ग्राहक आउने गरेको बताउँछन् ।
जिल्लाको झिमरुक उपत्यका तथा माडि क्षेत्र माछापालनका लागि उत्तम क्षेत्र मानिन्छ । वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरी अनुदान दिन थालिए पछि जिल्लाका करिब दुई सय कृषक माछापालन व्यवसायमा प्रत्यक्ष रुपमा जोडिएका बताउँछन् ।
“पछिल्लो आवमा रु २५ लाख अनुदान उपलब्ध गराएका छौँ” उनले भने । दुई सय वर्गमिटर क्षेत्रफलको आधारमा रु २० हजारका दरले मत्स्यपालन र पोखरी निर्माणका लागि अनुदान दिने गरिएको छ । जिल्लाको मरन्ठाना, खलङ्गा, ओखरकोट, बाँदीकोट, चुँजा, तुषारा, बिजुली, धर्मावती, बिजुवार र बर्जिवाङका किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् ।
प्यूठानमा माछापालन व्यवसाय फस्टाउँदै

Add Comment