शुक्रबार, बैशाख ७, २०८१

स्वेदशी युवा विदेशमा भौतारिदै भारतीय मजदुर तरकारी खेतीमा कमाउंदै

महेन्द्रनगर, माघ । देशमा रोजगार नपाएर नेपाली युवाहरु विदेश पलायन भईरहेको अवस्थामा कञ्चनपुरमा भने भारतीय मजदुरहरु नेपालमा रोजगारी गरेर राम्रो कमाइ गरिरहेका छन् । पछिल्ला वर्षमा कञ्चनपुर तरकारीमा आत्मनिर्भर बन्दै गएपछि भारतीय मजदुरहरु तरकारी खेतीमा आएर काम गरिरहेका देखिन्छन् । अहिले तरकारी किन्न भारतीय बजार जानुपर्ने बाद्यता हटेको छ । तर तरकारी उत्पादनका लागि भने भारतीय मजदुरकै भर पर्नुपर्ने अवस्था छ ।
सदरमुकाम भीमदत्तनगर आसपासका दैजी, सुडा, झलारी, बागफाँटालगायतका क्षेत्रमा भारतीय मजदुरले जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आइरहेका छन् । “हामी स्थानीय उत्पादन बढ्यो भनेर खुसी भइरहेका छाँैं” कञ्चनपुर मण्डी व्यवसायी समितिका पूर्व अध्यक्ष तर्कराज भट्टले भने– “तर अझै पनि यहाँका किसान तरकारीखेतीमा व्यावसायिक रुपले लाग्न सकेका छैनन् ।”
युवा जनशक्ति रोजगारीका लागि भारत तथा तेस्रो मूलुक गइरहेको भए पनि स्थानीयस्तरमा व्यवसायमा लाग्नतर्फ ध्यान नदिएको भट्ट बताउछन् । पछिल्लो समय राना चौधरी समुदायका किसान तरकारी खेतीमा संलग्न हुन थालेका छन् । “बजारमा पाइने तरकारीमध्ये ८० प्रतिशत भारतीय मजदुरकै मिहेनतमा फलेको छ ।” जिल्ला कृषि विकास कार्यालयले पनि युवालाई विभिन्न कार्यक्रममार्फत कृषि व्यवसायमा स्थानीय किसानलाई आर्कषण गरेपनि जिल्ला अझै भारतीय मजदुरको उत्पादनले धानिरहेको जनाएको छ ।
स्थानीयले तरकारी खेतीमा अझै ध्यान दिन सकेका छैनन्” जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भने– “पछिल्लो समय थारु समुदाय तरकारी खेतीमा अग्रसर भइरहेको छ ।” सीमावर्ती भारतीय क्षेत्रका नागरिक विगत लामो समयदेखि कञ्चनपुरका विभिन्न ग्रामीण भेगसम्म पुगेर तरकारी उत्पादनबाट मनग्य आम्दानी गरिरहेका छन् ।
यहाँका स्थानीयवासीले मिहेनत गर्न रुचाउन्नन्” भीमदत्तनगर मण्डीमा तरकारी बिक्रीका लागि आएका भारतको पिलिभितका गोविन्द मौरियले भने– “मैले सिङ्गो परिवार यही आएर तरकारी उत्पादन गरी पालेको छु ।”
उनी विगत एक दशकदेखि कञ्चनपुरमा जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दैआएका छन् । सुरुमा भीमदत्तनगरपालिकाको महुलियामा तीन वर्ष तरकारीखेती गरेका मौरिय अहिले वनगाउँमा दुई बिघा जग्गामा तरकारी फलाउँदै आएका छन् ।
भारतीय मजदुर बाह्रै महिना तरकारी उत्पादन गर्छन् । पहिले भारतबाट तरकारी बढी मात्रामा आयात गरिन्थ्यो । अहिले तरकारी यहीँ उत्पादन भए पनि उत्पादन गर्न भने भारतीय मजदुरकै भर पर्नु परिरहेको छ । “पहिले यहाँ भारतीय सीमावर्ती सहर वनबासा, खटिमा तथा डडेल्धुरा, डोटी र सल्यानबाट तरकारी आयात गरिन्थ्यो” तरकारी व्यापारी विश्रामसिंह धामीले बताए– “अहिले भारतीय मजदुरले बजार आसपासमै उत्पादन गरी मण्डीमा खपत गरिरहेका छन् ।” तरकारी खेतीबारे प्रायः भारतीय मजदुर नै बढी जानकार हुने गरेको उनको भनाइ छ । तरकारी उत्पादनका बेला कामको चाप बढेपछि भारतबाटै मजदुर बोलाएर काम लगाएर तरकारी उत्पादन गर्ने चलन छ ।

प्रकाशित मिति: बुधबार, माघ २७, २०७२