शुक्रबार, बैशाख ७, २०८१

किसानहरुलाई कृषि यन्त्रको बारेमा जानकारी गराउनु आवश्यक छ

swayambhuy

स्वयम्भु कृष्ण श्रेष्ठ
अध्यक्ष
नेपाल कृषि यान्त्रिक व्यवसायी संघ

० नेपाल कृषि यान्त्रिक व्यवसायी संघले के काम गर्दै आईरहेको ?
नेपालमा बढ्दै गईरहेको कृषि उत्पादनको लागत मूल्य घटाउनका लागि कृषि क्षेत्रमा यान्त्रिकीकरणमा लैजानु आवश्यक छ । जवसम्म हामीले कृषि क्षेत्रमा नयां नयाँ प्रविधि सहितको यान्त्रिकीकरण मार्फत कृषि व्यवसाय गर्न सक्दैनौ तवसम्म नेपालको कृषि क्षेत्र व्यवसायिकरण गर्नका लागि गाह्रो हुन्छ । अहिले हामीले दक्ष जनशक्तिदेखि श्रमको मूल्यलाई हेर्ने हो भने पनि कृषि उपज उत्पादनका लागि लागत मूल्य अत्यधिक धेरै छ । त्यो लागत मूल्य नघटाएसम्म किसानहरुले बढी भन्दा बढी फाइदा लिलन सक्दैनन् । त्यसकारण किसानहरुलाई आफूले गर्दै आईको कृषि उत्पादनमा लागत मूल्य कम गराएर बढी नाफा कसरी लिन सकिन्छ र त्यसका लागि कृषि यन्त्रको फाइदा के हो भन्ने बुझाउने प्रयास हामीले गरिरहेका छौं ।
० संघको काम किसानलाई कृषि यन्त्रको बारेमा जानकारी दिने मात्र हो ?
होइन, हामीले यन्त्रको बारेमा किसानहरुलाईजानकारी दिने मात्र नभएर सरकारले कृषि यान्त्रिकरणका लागि बनाउने नीति नियमहरुमा समेत संलग्न भई उचित राय सुझाव दिने काम पनि गरिरहेका छौं । हामी लामो समयदेखि कृषि यन्त्र आयात गर्ने र किसानहरुलाई त्यसको बारेमा जानकारी दिने गर्दै आईरहेका कारण पनि नेपाली किसानहरुको आवश्यकता के हो ? कस्ता खालका कृषि यन्त्र हाम्रा किसानहरुले प्रयोग गर्न सक्छन् । किसानहरुका लागि सरकारले केके गर्नु पर्दछ भन्ने खालका वकालत पनि संघको तर्फबाट हामीले निरन्तर गरिरहेका छौं ।
० त्यसो भए किसानहरुलाई यान्त्रिकरणमा जोड दिने काममा सरकारलाई सहयोग गरिरहनु भएको छ ?
हो हामीले सरकारलाई किसानहरुलाई कृषि यन्त्रमा अनुदान दिने, विभिन्न गैरसरकारी संस्थाहरुले कृषिमा कार्यक्रम गर्दै आईरहेका उनीहरुलाई पनि यान्त्रिकरण तर्फ जोड दिन लगाई उत्पादन लागत मूल्य घटाउने तर्फ सहयोग गर्नका लागि पनि समन्वयकारी भूमिका हामीले खेलिरहेका छौं।
० लामो समयदेखि कृषि यन्त्र विक्री वितरण गर्दै आईरहनु भएको छ, कस्तो छ नेपालमा कृषि यन्त्र प्रयोगको अवस्था ?
मैले २०५१ सालदेखि कृषि क्षेत्रका लागि महत्वपूर्ण मानिएको कृषि यन्त्रमा हाते ट्रयाक्टर, पावल ट्रिलरहरु आयात गरी विक्री वितरण गर्दै आईरहेको छु । त्यस बेला धेरै नै गाह्रो थियो । नयां प्रविधि भएकाले प्रयोगकर्ता किसानहरु पनि अत्यन्तै कम थिए । त्यस बेला र अहिलेमा धेरै नै परिवर्तन आईसकेको छ । अहिले कृषि क्षेत्रमा शिक्षित र कृषि अध्ययन गरेका युवा पुस्ताहरुको आकर्षण बढिरहेको छ । जनशक्तिको अभाव मात्र नभई कृषि यन्त्रको प्रयोग गरेर कृषि गर्दा लागत मूल्य घट्ने र त्यसबाट बढी नाफा लिन सकिन्छ । जनशक्तिको कम प्रयोग हुने भन्ने कुरा विस्तारै विस्तारै आम किसानहरुले बुझ्न थाल्नु भएको छ । जसका कारण अहिले कृषि क्षेत्रका लागि धेरै भन्दा धेरै कृषि यन्त्रहरु आयात भईरहेका छन् र किसानहरु पनि त्यस तर्फ बढी आकर्षित हुनु भएको छ ।
० किसानहरुले यसबाट कसरी फाइदा लिन्छन् ?
सवैभन्दा महत्वपूर्ण फाइदा भनेको कृषि यन्त्रको प्रयोगबाट किसानहरुले विगत गर्दै आईरहेको कृषि उत्पादनमा यसले लागत मूल्य घटाउछ । यसले समय पनि मितव्ययी हुन्छ । हिजो हामीले खेत जोत्दा दिनभर लाग्ने ठाउंमा कृषि यन्त्रको प्रयोग गरिसकेपछि त्यो दुई घण्टामा नै गर्न सकिन्छ । उत्पादनमा पनि बृद्धि गर्न सकिन्छ । अहिले यति सुक्ष्म सुक्ष्म खालका कृषि यन्त्र आईसके कि किसानहरुले गर्ने हरेक काममा यन्त्रले सहयोग गर्ने गर्दछ । दश जना व्यक्तिले गर्ने काम एउटा मेसिनले थोरै खर्चमा गर्न सकिन्छ । जसबाट १० जना कामदारको लागत मूल्य र एउटा मेशिन प्रयोग गर्दा लाग्ने लागतमा धेरै कमी हुन्छ । जसबाट प्रत्यक्ष रुपमा नै किसानहरुले फाइदा लिन सक्छन् ।
० कृषि यन्त्रको प्रयोगबाट यति धेरै फाइदा हुने बताईरहनु भएको छ, तर नेपाली किसानहरुले किन कृषि यन्त्र प्रयोग गरिरहेका छैनन् त ?
ठिक कुरा गर्नु भो तपाईले । सवैभन्दा ठूलो कुरा के हो भने आम किसानहरुलाई जनचेतना अभिबृद्धि गर्नु पर्दछ । किसानहरुलाई कृषि यन्त्रको बारेमा जानकारी नै छैन । हामीले जिल्ला जिल्लामा गएर कृषि यन्त्रको बारेका जानकारी दिने, तालिम प्रदान गर्ने पनि गरिरहेका छौंै । त्यो अवस्थामा हामीले के पायौं भने कृषिमा काम गर्नका लागि मेशिन पनि हुन्छ र भन्ने किसानहरु पनि पाएका छौं । त्यसकारण पनि किसानहरुलाई हामीले उत्पादन गर्ने हरेक बस्तु र बालीका लागि महत्वपूर्ण मानिएका कृषि यन्त्रको बारेमा जानकारी दिने । यस्ता कृषि यन्त्र कसरी प्रयोग गर्ने र लागत मूल्य घटाएर कसरी बढी भन्दा बढी फाइदा लिने भन्ने कुराको जानकारी गराउनु आवश्यक छ त्यही नभएका कारणले नै किसानहरुले कृषि यन्त्र सोचेअनुरुप गर्नु भएको छैन । जवसम्म कृषि यान्त्रिकीकरणका बारेमा आम किसानहरुलाई जनचेतना बढाउन र यसको प्रयोग बढाउन सक्दैनौ तवसम्म कृषिको विकास गर्न गाह्रो छ ।
० नेपाल सरकारले पनि कृषिमा यान्त्रिकीकरण गर्नु पर्दछ भन्ने कुरा त भनिरहेको छ नि त ?
भनेर मात्र भएन काम नै गर्नु पर्दछ । कृषि यन्त्रको प्रयोगबाट हुने फाइदाका बारेमा सरकारले नै जनचेतना जगाउने काम गर्नु पर्दछ । हामी निजी संस्थाहरुले विगतदेखि नै गर्दै आईरहेका छौंै भने सरकारको संयन्त्र तल्लोतहसम्म भएकाले यसको प्रमुख दायित्व सरकारको नै हो ।
० त्यसो भए सरकारले कुरा ग¥यो काम गरेन भन्दा हुन्छ ?
काम नै गरेन भन्ने मिल्दैन । सरकारले किसानहरुलाई कृषि यन्त्रको प्रयोग बढाउनका लागि विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ । त्यसले गर्दा पनि किसानहरुमा कृषि यन्त्रको प्रयोग गर्नु पर्दछ । सरकारले सहयोग गरिरहेका छ भन्ने भईरहेको छ । तर सरकारका तर्फबाट जति गर्नु पर्ने हो त्यत्ति हुन सकिरहेको छैन । सरकारले गर्ने काम पुगेन भन्दा ठिक होला ।
० सरकारले के गरिदिनु प¥यो त ?
सरकारले आम किसानहरुलाई कृषि यन्त्रका बारेमा जनचेतना अभिबृद्धि गर्नु पर्दछ । त्यसको विकल्प केही पनि छैन । सरकारले कृषि यन्त्रको प्रयोगबाट किसानहरुले पाउने सुविधा, त्यसबाट पाउने फाइदाहरुका बारेमा जानकारी दिने, अनुदानका बारेमा जानकारी गराउने, उत्पादन लागत घट्ने हुँदा कृषि उपजबाट बढी लाभ लिन सकिन्छ भन्ने कुरा बुझाउने कार्य गर्ने हो भने नेपालमा पनि कृषि यान्त्रिकीकरणले सफलता पाउंछ ।

प्रकाशित मिति: आइतवार, माघ २४, २०७२