बिहिबार, बैशाख १३, २०८१

करोडौंको अदुवा बिक्री समस्या

उदयपुर, २० माघ । जिल्लामा यस वर्ष करिब रु ६ करोडको अदुवा उत्पादनमा भए पनि अहिलेसम्म तराईका बजार पूर्णरूपमा खुल्न नसक्दा बिक्री गर्न समस्या भएको छ ।
जिल्लामा यस वर्ष एक हजार ७२५ मेट्रिक टन अदुवा उत्पादन भएको छ । विभिन्न क्षेत्रको ११५ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पवन गिरीले जानकारी दिएका छन् । अदुवाको मुख्य बजार रहेको तराईका क्षेत्रमा बन्दको प्रभावको कारण आपूर्ति हुन नसक्दा बिक्री हुन नसकेको उहाँको भनाइ छ । रिस्कु, हर्देनी, लेखानी, मयङ्खु, भलायाडाँडा, डुम्रे, सोरुङछबीसे, तावाश्री क्षेत्रमा पर्याप्त अदुवा उत्पादन भएको छ ।
बन्दका कारण अदुवा खरिदका लागि तराईका व्यापारी नआउँदा बिक्री गर्न समस्या भएको हर्देनी–४ का गोठबहादुर राउत बताउंछन् । उनले गत वर्ष रु डेढ लाखको अदुवा बिक्री गर्नु भएको थियो । विगत वर्षमा यहाँको अदुवा सप्तरी, धनुषा, सुनसरी र मोरङसम्म निर्यात हुने गरेको थियो । “यस वर्ष अहिलेसम्म ३० प्रतिशत मात्र अदुवा बिक्री भएको छ” भलयाडाँडा–३ का कृष्ण खत्रीले बताए ।

प्रकाशित मिति: बुधबार, माघ २०, २०७२