बिहिबार, बैशाख १३, २०८१

भुइँस्याउले बजार नपाउँदा कृषक चिन्तित

krishilogoपर्वत, १८ माघ । गतिलो आम्दानी गर्ने आशामा आलु र कोदोखेती छाडेर भुइँस्याउको व्यावसायिक खेती सुरु गरेका यहाँका कृषक समस्यामा परेका छन् । उत्पादित भुइँस्याउले उचित मूल्य र बजार नपाउँदा उत्तरी पर्वतको लेखफाँट, शालिजा, क्याङलगायतका गाविसका कृषक चिन्तित बनेका हुन् । लाखौँ मूल्य बराबरको भुइँस्याउ ग्राहक नआउँदा कुहिन थालेको कृषकले गुनासो गरेका छन् । आलु उत्पादनको प्रमुख पकेट क्षेत्र मानिने पर्वतको उत्तरी क्षेत्रका कृषक विगत तीन वर्षदेखि व्यावसायिक रुपमा भुइँस्याउ (ग्राउन्ड एप्पल) खेतीतर्फ आकर्षित बनेका थिए ।

आलुको भन्दा पाँच गुणा बढी उत्पादन हुने र राम्रो बजार मूल्यसमेत पाउने आशामा आलु छाडेर भुइँस्याउको खेतीमा लागेका कृषकले रु एक हजार प्रतिकिलोग्रामको दरले बीउ खरिद गरेर खेती गरेका थिए । सहजै बिक्री हुने अनुमानमा ठूलो क्षेत्रफलमा खेती गरेकाहरु टाउकोमा हात समाएर बस्न बाध्य भएका छन् । जिल्लाको उत्तरमा पर्ने लेकफाँट, शालिजा, बनौ, क्याङ, भुकलगायतका गाविसमा विगत तीन वर्षदेखि भुइँस्याउको व्यावसायिक खेती थालिएको थियो ।
पहिलो वर्षमा लगाएको खेतीबाट राम्रो आम्दानी गरेको तर गत वर्षदेखि उचित मूल्य पाउन छाडेको कृषकको भनाइ छ । पहिलो वर्ष कोरियामा समेत निकासी भएकाले रामै्र आम्दानी भएको थियो । भुइँस्याउ विशेषगरी पाँचतारे होटलमा बढी माग हुने गरेको छ भने यसबाट वाइनसमेत बनाउन सकिन्छ । “पहिलो वर्ष परीक्षणको रुपमा लगाउँदा राम्रो आम्दानी भएको थियो”, लेकफाँटका कृषक कृष्णबहादुर रञ्तिजाले भने – “यो वर्ष अहिलेसम्म व्यवसायी खरिद गर्न आएका छैनन् ।”
अहिले घर घरमा भुइँस्याउ खनेर थुपारेको भए पनि बजार नपाउँदा समस्या भएको उनले बताए । सामान्यतः चिसो ठाउँमा बढी खेती हुने भएकाले माथिल्लो भागका अधिकांश गाविसमा यसको व्यावसायिक उत्पादन थालिएको हो । अहिले उत्तरी गाविसका प्रायःजसो सबै घरधुरीले ५० देखि पाँच हजार बोटसम्म लगाएको स्थानीय हरिमाया पुनले बताए । सुरुमा काठमाडौँका तारे होटल र वाइन बनाउने कम्पनीहरुबाट माग आएपछि यसको व्यावसायिक खेती सुरु भए पनि अहिले कतैबाट माग नआएको कृषक रञ्तिजाले बताए । “यो औषधि र नगदेबालीका रुपमा प्रयोग गर्न सकिने भएकाले व्यावसायिक रुपमा थालेका हौँ, उनले भने  – तर यसको बजार राम्रोसँग पाउन सकेनौँ ।”
पोखरा, काठमाडौँलगायतका क्षेत्रमा प्रचारप्रसारको अभाव भएकाले पनि व्यापारीहरु खरिद गर्नका लागि नआएको उनले बताए । भुइँस्याउबाट सलाद, जुस र अन्य परिकार हुन्छन् भने वाइन बनाउनका लागि सबैभन्दा बढी प्रयोग हुने गर्दछ । यसलाई पखालेर काँचै खाँदासमेत स्वादिष्ट हुन्छ । पछिल्लो समयमा गाउँमै यसबाट रक्सी बनाउन थालिएको छ । यसको सेवनले जोर्नी दुखेको र मधुमेह रोगलाई समेत निको पार्ने भएकाले अधिकांश घरधुरीले आफ्नै प्रयोजनका लागि पनि खेती गरेको बताउँछन् ।
गएको वर्ष पर्वतमा १५ टन भुइँस्याउ उत्पादन भएको थियो । गत वर्ष यहाँ उत्पादित भुइँस्याउ कोरिया निकासी भएको कृषक अमबहादुर रोकाले बताए । “कोरियाबाटै माग आएकाले यस वर्ष नेपालमा भन्दा विदेशमा नै बिक्री ग¥यौँ” उनले भने, “‘स्वदेशी र विदेशी बजारमा राम्रो माग भएकाले यसको खेती विस्तारमा जुटे पनि यस वर्ष माग नआएकाले समस्या परेको छ ।” भुइँस्याउ एउटा बोटमा नौ केजीसम्म उत्पादन हुने र बजार मूल्यसमेत राम्रो भएकाले कमाइसमेत राम्रो हुने कृषक बताउँछन् । अहिले प्रतिकिलो रु ५० मा बिक्री हुँदै आएको कृषकले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमवार, माघ १८, २०७२