बिहिबार, चैत्र १५, २०८०

सिंगो गाउँ कफी खेतीतिर

सिन्धुपाल्चोक,१२ माघ। आफैंले पसिना चुहाएर सक्षम बन्ने लक्ष्य भेट्न थुम्पाखर–२ पाखरेदोभानकी कृष्णकुमारी श्रेष्ठ हरेक दिन झण्डै तीन घण्टा बारीमा लगाइएको कफीमा पानी हाल्न बिताउँछिन्। पाखो बारीमा कफीका नयाँ विरुवा लगाएपछि अहिले उनको दैनिकी फेरिएको छ। भर्खर लगाइएको कफीको बोटलाई मलजल गरेर पछि कमाई हुने आशले उनी त्यसैको रेखदेखमा दिन कटाउने गरेको बताउँछिन्।

‘भर्खरै लगाएको छु, यसले राम्रो फल दिनेमा विश्वस्त छु,’ उनले बारीमा लगाइएको साना कफीका विरूवा देखाउँदै भनिन्, ‘आफ्नै कमाईबाट चाहेको खर्च गर्न पाएपछि आफूलाई खुसी लाग्ने भएकाले व्यवसायिक खेती सुरू गरें।’ उनले हरेक दिन गाग्रीमा पानी हालेर कफीको बोटलाई स्याहार गरिरहेको बताइन्।

यही ठाउँमा उनले आठ वर्षअघि तरकारी खेती गरेकी थिइन्। तीन वर्ष गरेपछि निरन्तरता दिन नसकेको उनले दुखेसो पोखिन्। ‘गाउँमा खानेपानीसमेत पाइदैन, तरकारी खेतीमा पानी राख्न नपाएपछि छाड्नुपर्‍यो,’ उनले भनिन्, ‘अब भने दुःखै गरेर भएपनि आफू आत्मनिर्भर हुन्छु।’ उनको गाउँमा ल्याउन नजिक पानीको मुहान छैन। पानीकै कारण यो गाउँवासीले समस्या भोगिरहेका छन्। ‘पानी नभएकाले यहाँका किसानहरुले आफूले चाहेको व्यवसाय गर्न सकेका छैनन्,’ कृष्णकुमारीले भनिन्, ‘अब हार मानेर हुन्न भन्ने सोचले कफी खेती लगाउन थालेको छ्ु।’

पाखरेदोभानमा उनले मात्रै हैन सिंगो गाउँवासी अहिले कफी खेतीतिर लागेका छन्। ५० देखि ५०० बोटसम्म कफी लगाउने किसान यो गाउँमा छन्। गाउँमा पानीको अभावका कारण सबैले धारामा आउने गरेको पिउने पानी थापेर गाग्रीमा बोकी कफीको बोटसम्म पुर्‍याउन बाध्य बनेका छन्।

प्रकाशित मिति: मङ्लबार, माघ १२, २०७२