बिहिबार, बैशाख ६, २०८१

कृषि क्याम्पस स्थापनाको तयारी

चितवन, ११ माघ । त्रिभुवन विश्वविद्यालयले चितवनको रामपुरमा आफ्नो आङ्गिक कृषि क्याम्पस सञ्चालन गर्न नसकेपछि जिल्लाकै शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकूको शिविर रहेको स्थानमा क्याम्पस सञ्चालन गर्न गृहकार्य थालेको छ ।
लडाकुको मुख्य शिविर रहेको शक्तिखोर र सहायक शिविर रहेको शक्तिखोरको गैरीबारी, वीरेन्द्रनगरको रसौली, र चैनपुरको भूतियामा कृषि क्याम्पस सञ्चालनका लागि गृहकार्य अगाडि बढाएको विश्वविद्यालयका उपकूलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिएका छन् । रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले जवरर्जस्ती कार्यक्रम हटाउन दबाब दिएपछि विद्यार्थीको मागअनुसार जिल्लामा त्रिविअन्तर्गतकै आङ्गिक कृषि क्याम्पस जरुरी देखेर प्रक्रिया अगाडि बढाएको उनले बताए ।
शिविरको करिब २०० बिघा जमिन क्याम्पसका लागि प्रयोग गर्न सकिने स्थिति छ । सो क्षेत्र नेपाल सरकारको वन क्षेत्रभित्र पर्दछ । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले त्रिभुवन विश्वविद्यालयले सो क्षेत्रको विस्तृत विवरण लिएको बताउंदै सरकारी जग्गा स्वामित्व हस्तान्तरण गर्दा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । यसअघि सामान्य प्रस्ताव मुख्य सचिवकोमा पुगेको भए पनि विस्तृत विवरण नभएकाले स्वयम् उपकुलपति खनियाँसहितको टोलीले सो क्षेत्रको अध्ययन गरी नक्साङ्कनसमेत सङ्कलन गरेर काठमाडौँ फर्किएको छ ।

प्रकाशित मिति: सोमवार, माघ ११, २०७२