बांके, माघ । पशुपालन व्यवसाय आत्मनिर्भरतातिर अगाडि बढिरहेकाले यसलाई व्यवस्थित गर्नका लागि सरोकारवाला व्यक्तिहरु सक्रिय भएर लाग्नु पर्ने पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले आग्रह गरेकी छिन् । सुदूरपश्चिमको भ्रमण सम्पन्न गरी काठमाडौं फर्कने क्रममा क्षेत्रीय पशु सेवा निर्देशनालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री मानवीले सो कुरा बताएकी हुन् । सरकारले विभाजन गरेका मन्त्रालय मध्ये पशुपंक्षी विकास मन्त्रालय सशक्र ढंगले अघि बढिरहेको भन्दै मन्त्रालयका लागि जनशक्ति अभाव भएको भन्दै जनशक्ति पूरा गर्दै पशुपालन किसानहरुको समस्या समाधान गर्नका लागि आफू प्रतिवद्ध भएर लाग्ने उनले बताईन् । आफ्नो मन्त्रालय मातहतका भौतिक संरचनाहरुको धेरै पुर्ननिर्माण गर्नु पर्ने देखिएको भन्दै पशु व्यवसायलाई पनि व्यवसायिक बनाउनु पर्नेमा सवै एक जुट हुनु पर्ने मन्त्री मानवीको जोड थियो । नेपालको कृषि क्षेत्रमा पशुपालन व्यवसाय अग्रस्थानमा रहेको भन्दै किसानका समस्या समाधान नगरी र किसानलाई शसक्त नबनाई यो व्यवसायले अगाडि बढ्न नसक्ने बताईन् ।
कार्यक्रममा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले किसानका हितका लागि मन्त्रालयले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले कृषकको घर दैलोमा पुगेर पशुपालनमा लागिरहेका किसानहरुले भोगेका समस्या समाधान गर्नका लागि क्रियाशील भएर लाग्ने समेत बताएका थिए । कार्यक्रममा क्षेत्री पशु सेवा निर्देशनालय मध्यपश्चिमाञ्चलका क्षेत्रीय निर्देशक किशोरप्रसाद कायस्थले पशुपालन व्यवसायलाई व्यवस्थित गर्न र किसानहरुका समस्या समाधान गर्नका लागि आईपरेका चुनौतिका बारेमा जानकारी गराएका थिए ।
पशुपालन व्यवसाय आत्मनिर्भरतातिर : मन्त्री मानवी

Add Comment