बुधबार, बैशाख १२, २०८१

सुन्तला बेचेर एक करोड भित्रियो

पर्वत, २ माघ । जिल्लाको देउपुर गाविसका कृषकले सुन्तला बिक्री गरेर वार्षिक रु एक करोड रकम गाउँ भित्र्याउने गरेका छन् । विगत २ दशकदेखि पर्वतको देउपुर गाविसमा गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले वार्षिक करोडौँ रुपैयाँ भित्र्याउने गरेका हुन् ।
परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गरेपछि उनीहरूको जीवनस्तरमा समेत व्यापक परिवर्तन आएको छ । यहाँका करिब ४०० कृषक सुन्तला खेती गरेर आत्मनिर्भर भइरहेकाछन् ।
देउपुरमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगतदेखि नै सुन्तला खेतीलाई व्यावसायिक रुपमा सुरु गरेको कृषक दाताराम चापागाईंले बताए । सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रुपमा रु तीन लाखसम्म कमाइ हुन थालेको चापागाईँको भनाइ छ । “मकै कोदो लगाउँदा रु २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा रु तीन लाख कमाइ हुन्छ”–उहाँले भन्नुभयो, “अहिले देउपुरका सबै घरका कृषकले एक लाखभन्दा बढी कमाउछन् ।”
सुरुमा केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेका र राम्रो उत्पादन हुन थालेपछि व्यावसायिक खेती गरिएको उनीहरूको भनाइ छ । कृषकले सुन्तला खेतीसँगै कफी र अदुवा खेतीसमेत गरेर खाली जग्गाको उपयोग गर्ने गरेका छन् । सुन्तलाबाट वर्षमा एकपटक मात्र कमाइ हुने र अन्य बालीसमेत सँगै लगाउँदा वर्षभरि नै आम्दानी हुने गरेको कृषकहरू बताउछन् । orange
सुन्तलासँगै लगाइएको अदुवाबाट वार्षिक रु एकदेखि तीन लाखसम्म कमाइ हुने गरेको छ । स्थानीय कृषक खेमराज पौडेलले सुन्तलाबाट वार्षिक तीन लाख, अदुवा, लसुनलगायतका भुईँबालीबाट रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए । पौडेलको तीन रोपनी बगैँचामा ३०० सुन्तलाका बोट रहेका छन् ।
गाउँमा प्रशस्त सुन्तला उत्पादन हुन थालेको र बजारको समस्यालाई निराकरण गर्न कृषकहरूले आफ्नै पहलमा एक सहकारीसमेत गठन गरेका छन् । बजारको समस्या र मूल्यमा एकरुपता नहुँदा व्यापारीबाट ठगिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न सो सहकारीको गठन गरिएको कृषक पौडेलको भनाइ छ । माछापुछ«े बहुद्देश्यीय सहकारी संस्थाको गठन भएपछि कृषकलाई बजारको समस्या हटेको संस्थाका कोषाध्यक्ष जीवन्धर शर्माले बताए । सुन्तला फलेदेखि बजारको समस्या हुने गरेको थियो”–उनले भने, “सहकारी गठन भएपछि व्यापारीसँग मोलमलाई गर्न र बजार व्यवस्थापन गर्नसमेत सहज भएको छ ।”

प्रकाशित मिति: शनिबार, माघ २, २०७२