शुक्रबार, चैत्र १६, २०८०

म्याग्दीबाट दश मुरी टिमुर बिक्री

म्याग्दी,२ माघ । म्याग्दीको बेनी नगरपालिका–१० तोरीपानी टिमुर गाउँको रुपमा विकास हुन थालेको छ । गाउँघरमा खेर गएका जग्गा जमिनमा मसलेदार फल टिमुरखेती विस्तार गर्ने अभियानले तोरीपानी टिमुर गाउँको रुपमा विकास हुनलागेको हो । तोरीपानीसँगै डावा, काफलबोट, धुपिबोट, ढोलठान, नेप्टेचौर, गिठिनीलगायतका ठाउँमा व्यावसायिक टिमुरखेती गर्ने लहर चलेको स्थानीय युवा सागर बानीयाँले बताए ।timur
भुमेसिद्ध टिमुर कृषक समूहका अध्यक्षसमेत रहेका बानीयाँले टिमुरको माग बढेको र आम्दानी समेत राम्रो हुने भएकाले कृषक टिमुरखेतीमा लागेको बताए । यस क्षेत्रका झण्डै १०० घरधुरी टिमुरखेतीमा लगेका छन् । ‘‘ केही वर्ष अगाडिसम्म टिमुरको महत्वबारे समुदायमा जानकारी थिएन, अहिले टिमुर खरिद गर्न व्यापारी घरमै आउन थालेपछि कृषक थप उत्साहित बनेका छन्, अध्यक्ष बानीयाँले बताए । ’’ तोरीपानीमा रहेको भुमेसिद्ध टिमुर कृषक समूहमा आवद्ध कृषकले यो वर्ष १० मुरी टिमुर बिक्री गरेका छन् ।
खरिदका लागि घरदैलोमा पुगेका व्यवसायीले प्रतिपाथि रु एकहजार २०० देखि रु एक हजार ६०० सम्ममा टिमुर खरिद गरेको अध्यक्ष बानीयाँले जानकारी दिए । टिम्मुरलाई धेरै मेहेनत पनि गर्नु नपर्ने र गाउँघरका जस्तोसुकै बाली कान्ला वा पाखोमा पनि हुने भएकाले यसप्रतिको आकर्षण बढेको स्थानीय कृषक ईव गिरीले बताए ।
राम्रो उत्पादन हुने वर्षमा एउटै बोटबाट १५ पाथीसम्म टिमुर सङ्कलन गर्न सकिने कृषक बताउछन् । पहिले अन्नसँग साट्ने र न्यून रकममा बिक्री हुने टिमुरबाट अहिले कृषकले आकर्षक आम्दानी गर्न थालेका छन् । तोरीपानी क्षेत्र म्याग्दीमा सबैभन्दा धेरै टिमुर उत्पादन हुने ठाउँको रुपमा चिनिन्छ ।
धेरै सिँचाइ र मलको आवश्यकता नपर्ने टिमुरखेतीबाट भएको आम्दानीले घरखर्च चलाउन र छोराछोरी पढाउन सहयोग मिलेको स्थानीयवासी रेउमायाँ परियारको छ । नगद आम्दानी हुनथालेपछि तोरीपानीवासीले सामुदायिक वन, खाली पाखो र उपयोग विहीन खेतबारीमा टिमुरका बोट लगाएका छन् । जडीबुटीको रुपमा पनि प्रयोग हुने टिमुरखेतीको विस्तार र बजारीकरणका लागि म्याग्दी उद्योग वाणिज्य सङ्घ, जिल्ला वन कार्यालय, लिवर्डलगायतका सङ्घ संस्थाले सहयोग गरेको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घमार्फत सरकारले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तरर्गत जिल्लामा टिमुरखेतीलाई छनोट गरी कार्यक्रम सञ्चालन गरेपछि म्याग्दी जिल्लामा टिमुरखेतीको विस्तार र प्रवद्र्धनमा टेवा पुगेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २, २०७२