शुक्रबार, बैशाख ७, २०८१

केरा खेतीप्रति कृषक आकर्षित

महोत्तरी, २ माघ । महोत्तरीको उत्तरी भेगका किसान ‘रोवेस्ट्रा’ नामक उन्नत जातको केराको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । कम जग्गामा अधिक उत्पादन लिन सकिने रोवेस्ट्र«ा जातको केरा खेतीबाट यहाँका किसानले मासिक हजारौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । सानो रुख, धेरै हाता लाग्ने, ठूलो घरी र स्वादिष्ट फल लाग्ने भएकाले आफूहरूले रोवेस्ट्रा जातका केराको बोट लगाएको भङ्गाहाका युवा किसान सत्यनारायण यादवले बताएका छन् ।
एक विघामा केरा खेती गर्नुभएका यादवले पछिल्लो तीन वर्षमा बर्सेनि रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । होचो बोट भएको हुँदा यो केरा सामान्य हावाहुरी चल्दासमेत ढल्ने सम्भावना कम हुने भएका कारण पनि रोवेस्ट्रा किसानको रोजाइमा परेको हो । एक कठ्ठा जग्गामा ८० वटा बोट लगाउन सकिने यो जातको केराबाट रोपेको नौ महिनामै पहिलो उत्पादन लिन सकिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाको भङ्गाहा, पशुपतिनगर, हतिसर्वा, किसाननगर, वेलगाछी, लक्ष्मिनियाँ गाविसमा मात्र २०० हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताउनुभयो । जिल्लामा करिब तीन हजार हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको कृषि कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २, २०७२