शुक्रबार, बैशाख ७, २०८१

कृषि महोत्सवमा कृषकको घुइँचो

पर्वत, २ माघ । दक्षिण पर्वतको रानीपानी गाविसमा पहिलोपटक सञ्चालन गरिएको कृषि महोत्सवमा कृषकको घुइँचो लागेको छ । जिल्लाकै पहिलो यो महोत्सवमा कृषिजन्य वस्तु खरिद गर्ने र आफ्ना उत्पादन बिक्री गर्ने कृषकको घुइँचो लागेको हो । तीन दिनसम्म हुने महोत्सवमा रानीपानी, वहाकी, बर्राचौर, शालिग्राम, उरामपोखरा, होश्राङ्दीलगायतका गाविसका कृषक सहभागी भइरहेका छन् ।
मौसमी तथा बेमौसमी कृषिउपजको प्रदर्शन र बिक्री तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय नमुना कृषि सहकारी संस्था लिमिटेडले महोत्सव आयोजना गरेको हो । महोत्सवबाट दक्षिण क्षेत्रका २० हजारभन्दा बढी कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सोही अवसरमा जिल्ला कृषि विकास कार्यालय पर्वतले बाली बिरुवाको परीक्षण र निःशुल्क बीउ वितरण गरेको छ । शुक्रबार मात्रै करिब ४०० कृषकलाई तरकारीको बीउ वितरण गरिएको थियो । वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीका अनुसार काँक्रा, घिरौँला, ४० दिने मूला, करेला, भिन्डी, काउली, बन्दा, रायो, टमाटरलगायतका बिउ कृषकलाई वितरण गरिएको हो ।
महोत्सवमा कृषकले उत्पादन गरेको कफी, टमाटर, मूला, सिमी, काउली, बन्दा, रायो, ब्रोकाउली, खुर्सानी, मेवा, सुन्तला, कागती, फर्सीलगायत तीन दर्जनभन्दा कृषिजन्य उत्पादनको प्रदर्शन तथा बिक्री गरिएको मूल संयोजक रामप्रसाद पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, माघ २, २०७२