शुक्रबार, बैशाख १४, २०८१

भारतीय धान भित्रिएपछि किसान मारमा

धनुषा, २९ पुस । बन्द हडतालको कारण उत्पादन गरेको धान सहरसम्म ल्याउन नसकेका किसानलाई भारतीय बजारबाट तस्करी भई धान नेपाल भित्रिन थालेपछि दोहरो मार परेको छ । नेपाली बजार मूल्य भन्दा सस्तोमा भारतीय धान भित्रिन थालेपछि धनुषाका किसान मारमा परेका हुन् ।
भारतीइ धान अवैध रूपमा खुला सिमानाबाट जिल्लामा व्यापक मात्रामा भित्रिन थालेपछि मूल्य नपाउँदा किसान बाध्य भएर सस्तो मूल्यमा बेच्न थालेका छन् ।
सरकारी अनुदान नपाएका कारण महँगो लागतमा उत्पादन गरेको धान सस्तो मूल्यमा बेच्दा यहाँका किसानले घाटा बेहोर्नु परिरहेको छ । नेपाल खाद्य संस्थानले धानको खरिद मूल्य नतोकिदिँदा किसानले घरमै आइपुग्ने बिचौलियालाई सस्तोमा धान बेच्ने गरेका छन् ।
अहिले व्यापारीले दलालमार्फत दैनिक ठूलो परिमाणमा धान भित्र्याउने गरेका छन् । अहिले धान प्रतिक्विन्टल रु एक हजार ८०० का दरले बिक्री भइरहेको छ । यसवर्ष जिल्लामा ५६ हजार ३९० हेक्टरमा एकलाख ४३ हजार ६५३ मेट्रिक टन धान उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । गतवर्ष ६२ हजार २०० हेक्टरमा दुई लाख १६ हजार १४४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७२