शुक्रबार, बैशाख ७, २०८१

हिमपात हुंदा किसान उत्साहित

मुस्ताङ, २४ पुस । जिल्लामा हिमपात भएको छ । यो याममा पहिलोपटक हिउँ परेपछि जिल्लाका किसान उत्साहित भएका छन् ।
शुक्रबार बिहानदेखि परेको वर्षासँगै दिउँसोदेखि हिमपात सुरु भएको हो । उपल्लो मुस्ताङको सबै क्षेत्र, कागबेनी, मुक्तिनाथ, जोमसोम र मार्फा क्षेत्रमा हिमपात भएको छ । बिहीबार रातिदेखि चिसो बढेपछि जिल्लाको मौसम अहिले माइनसमा झरेको छ ।
यो याममा हिउँ पर्न ढिला भएपछि स्याउ, आलु र तोरी उत्पादक किसान समस्यामा परेका थिए । हिउँ नपरेपछि कोबाङ, छुसाङलगायतका गाविसमा खानेपानीको समेत समस्या भएको थियो । सदरमुकाम जोमसोममा हिउँ पर्न थालेपछि भ्रमणका लागि पुगेका पर्यटक उत्साहित भएका छन् । उनीहरू हिउँमा रमाउन आतुर देखिएका छन् । हिउँ पर्न थालेपछि जोमसोम, बेनी, मुक्तिनाथ सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७२