बिहिबार, बैशाख ६, २०८१

पशुुपालनको महत्व र खाद्यसुरक्षा

विगतको दशकमा पशुपालनले राष्ट्रिय अर्थतन्त्रमा विशिष्ट योगदान पु-याउने गरी स्थिर अनि दिगो रुपमा फड्को मारेको छ । यसको ज्वलन्त उदाहरण कुखुराजन्य उत्पादन क्षेत्रमा आत्मनिर्भरता, दुग्ध उत्पादन क्षेत्रमा होली डे, खसीबोका आपूर्तिमा भरपर्दो उपस्थिति र बंगुरपालनमा अत्मनिर्भरको स्थिति छ । जसका कारण आज पशुपालन समग्र क्षेत्र, राज्य तथा अन्तर्राष्ट्रिय गैरसरकारी तथा राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाका कार्यक्रममा प्राथमिकतामा पर्न थालेका छन् । विगतको सबैखाले द्वन्द्वमा विस्थापित जनसमुदाय सहरी क्षेत्रमा स्थापित हुँदा आफ्नो आयआर्जनको प्रमुख स्रोत कुखुरा, हाँस, बंगुरपालनलाई नै आधार मानेका छन् । यसको प्रत्यक्ष उदाहरण आज काठमाडौं उपत्यकाको बाग्मती, विष्णुमती, मनहरा फाँट हेरे पुग्छ । यसबाहेक ग्रामीण क्षेत्रमा सीमान्तकृत जाति जनजाति अनि सुकुम्बासीका लागि पशुपालन वैकल्पिक आयआर्जनको दिगो स्रोतको रुपमा स्थापित भएको तथ्य भेटिन्छ ।kedar-karki-Dr.

विश्व कृषि तथा खाद्य संगठनको कुरा सुन्ने हो भने खाद्यसुरक्षाको आधारभूत अवधारणा भनेको यस भूमण्डलमा भएका प्रत्येक व्यक्तिले भनेको बेलामा आवश्यक चाहेको खानेकुरा भौतिक एवं आर्थिक रुपमा सहज पहुँच हुनु हो । विश्व बैंकको यसबारे आफ्नै तर्क छ । विश्वका जनसमुदायले क्रियाशील अनि स्वस्थ जनसमुदायले चाहेको बेला चाहेको खानेकुरा पाए पुग्यो । यसको सोझो अर्थ खानेकुराको सहज आपूर्ति अनि आवश्यक क्रयशक्ति ऋण काढेर भए पनि । हाम्रो आफ्नो परिपे्रक्ष्यमा नेपाल खाद्य संस्थानले हाम्रा दुर्गम क्षेत्रका गोदाममा चामल थुपारेर कर्णाली क्षेत्रका जनसमुदायको भोक मेटिँदैन । यसको लागि ती समुदायलाई रोजगारीको अवसर, आयस्रोतको वैकल्पिक व्यवस्था, त्यही क्षेत्रको उत्पादनमा आत्मनिर्भरता र त्यहाँ उत्पादन हुने अन्नबाली बाहेकको उत्पादनको सरल बजारीकरणको व्यवस्था गर्नुपर्ने हुन्छ । नत्र मुगुमा स्याउ कुहिन्छ, घरमा चामल छैन अनि खाद्यसुरक्षा कसरी ?

क्रियाशील स्वस्थ मानव जीवनकाललाई पुगुन्जेल खाद्यान्नको जोहो हुनुप¥यो अनि मात्रात्मक र गुणात्मक खाद्यान्न व्यवस्था गरेर मात्र पुग्दैन, सँगै स्वस्थ जीवनका लागि आधारभूत स्वस्थ सेवा, स्वच्छ खानेपानीको व्यवस्था, सुलभ यातायात, शिक्षा, मनोरञ्जन तथा क्षमताअनुसारको रोजगारी, वित्तीय पहुँच आयआर्जनका स्रोत पनि चाहियो नि । विगत तीन दशकको तथ्यांक विश्लेषण गर्ने हो भने निरन्तर खाद्य असुरक्षाको कारक गरिबी नै मानिएको छ ।  सरकारी तथ्यांक हेर्ने हो भने गरिबीको प्रतिशत घटेको देखिन्छ तथापि आज पनि हाम्रा विकट भौगोलिकका बासिन्दा भोकमरी तथा अभावमा बाँच्न विवश छन् । तिनका मुखका अगाडि खाद्यान्नको गोदाम भए पनि, खल्तीमा आयस्रोत नभएको स्थितिमा हाम्रा उल्लेखनीय जनसंख्या विवश छन् । यति हुँदाहुँदै पनि व्यक्तिगत रुपमा गरिबी मात्र खाद्य असुरक्षाको एक मात्र कारक तत्व भने हैन, समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा । यसको मूल कारक तत्व उपलब्धिमूलक रोजगारीको अभाव प्रमुख मान्न सकिन्छ । त्यसको प्रत्यक्ष उदाहरण हाम्रो आफ्नो परिप्रेक्ष्यमा बालीघरे प्रथा, हलिया, कमैया अनि हरुवा चरुवाको स्थिति हेरौं न त । हाम्रो आफ्नो परिप्रेक्ष्यमा हाम्रा ग्रामीण परिवेशमा समग्र भौगोलिक ग्रामीण क्षेत्रको ऊर्जाशील जनशक्ति वैदेशिक रोजगारमा पलायन अनि सहरी क्षेत्रका प्लस टु पुस्ता विकसित मुलुक र डीभीमार्फत पलायन हुँदा पनि बाँकी जनसंख्याको ६०/७० प्रतिशतको दैनिक जीविकाको आधार आज पनि कृषि क्षेत्रमा नै आधारित छ । ग्रामीण क्षेत्रमा गरिबीको कारण सर्वसाधारण सहरतर्फ बसाइसराइ गर्दछन् तर यसको लेखाजोखा राख्न सरकारले तत्परता देखाएको छैन ।

खेतीयोग्य अनि उत्पादनशील भूभागको असमान वितरणले समस्या अझ जटिल बनेको छ । श्रमशील जनसंख्यासँग न त भूस्वामित्व छ भने प्रशस्त भूस्वामित्व हुने यसको उपयोग गर्न मनस्थितिमा छ । अझ विगतको द्वन्द्वको प्रत्यक्ष प्रभाव हिजोका उत्पादनशील फाँट आज अन्न, तरकारी र फलफूल फल्नका साटो प्लटिङ भई आवास क्षेत्रमा परिणत हुने स्थिति छ ।  राज्यको केन्द्रीय भण्डारमा यथेष्ठ खाद्यान्नको भण्डार हुँदैन दुर्गम विकट क्षेत्रका गरिब जनसमुदायसँग क्रयशक्ति हुँदैमा सहज आपूर्तिको सुनिश्चितता गर्न सकिन्न । यसको प्रत्यक्ष उदाहरण हाम्रो आफ्नो परिवेशमा नेपाल खाद्य संस्थाका केन्द्रीय अनि क्षेत्रीय गोदामहरुमा यथेष्ठ खाद्यान्न मौज्दात हुँदा पनि जुम्ला, हुम्ला, बाजुरा जस्ता जिल्लामा दशैँकै बेला त अभाव देखिन्छ । अझ यस्तो बेलामा निजी व्यापारीले चर्को खाद्यान्नको भाउ बढाउँदा गरिब तथा दुर्गमका जनसंख्यामा आफ्नो आवश्यकताअनुसार खाद्यान्न सञ्चय गर्न नसक्ने अवस्थामा पुग्छन् । जसको परिणाम खाद्य असुरक्षाको जोखिम बढ्न सक्छ ।

मानिसलाई क्रियाशील जीवन व्यतित गर्न तथा स्वस्थ हुनलाई भोजनमा १ ग्राम प्रतिकेजी प्रोटिनको आवश्यकता पर्छ । जसको ३०–५० प्रतिशत पशुजन्य स्रोतबाट प्रतिदिन उपलब्ध हुनुपर्छ । अनि मात्र खाद्य सुरक्षाको प्रत्याभूति गर्न गराउन सकिन्छ । खाद्यसुरक्षा तथा पौष्टिक तत्वयुक्त खाद्यतत्वको सुनिश्चिततातर्फका साथै पशुपालन क्षेत्रले खाद्य सुरक्षाका विभिन्न क्षेत्रमा प्रत्यक्ष योगदान पु-याएको देखिन्छ, जसलाई निम्नानुसार अभिलेखीकरण गर्न सकिन्छ : —ग्रामीण तथा सहरउन्मुख क्षेत्रमा वैकल्पिक आयआर्जन तथा रोजगारीको भरपर्दो स्रोत हाम्रो आफ्नो परिवेशमा पशुपालन क्षेत्रमा भरपर्दो अनि दिगो रोजगारीको क्षेत्रको रुपमा देखापरेको छ । जसले अर्धदक्ष जनशक्ति मात्र हैन, शैक्षिक बेरोजगारलाई पनि रोजगारीको अवसर सृजना गरेको छ । अझ आशलाग्दो तथ्य यो पनि छ, पशुपालन क्षेत्रमा ७० प्रतिशत हाराहारीमा महिला सहभागिता । जसले महिलालाई आर्थिक रुपमा सबल पारेको छ । यसको प्रत्यक्ष उदाहरण हेफर इन्टरनेशलनको कार्यक्रममा देशव्यापीरुपमा महिला पुरस्कृत भएबाट पुष्टि हुन्छ । यसबाहेक दुग्ध व्यवसाय अनि कुखुरापालन व्यवसायले सृजना गरेको आर्थिक स्रोतको सुरक्षाले खाद्यसुरक्षाको भरपर्दो आधार वैकल्पिक आयस्रोत अनि रोजगारी मात्र हैन, लघुव्यवसायको आधार पनि तयार पारेको छ । यसको प्रत्यक्ष उदाहरण काठमाडौं उपत्यकामा दशैंमा खसीबजार थलोमा देख्न सकिन्छ । जुन बेला खसीबजार वरिपरि घाँस, डोरी बिक्री गर्ने ठूलो संख्यामा महिला अनि बालबालिकाको उपस्थितिले देखाउँछ । यसबाहेक पशुपालन क्षेत्रले अन्न, फलफूल तथा अन्य कृषि क्षेत्रलाई सहयोगी भूमिका पनि अप्रत्यक्षरुपमा गरेको देखिन्छ । जसअनुसार गोरु, घोडा, राँगा, खच्चड, गधा जस्तो जनावर, खेत खनजोत गर्न, कृषि सामग्री ओसारपसार गर्न प्रयोग गरिन्छ । नगदे कृषिमा यन्त्रीकरणको युग प्रवेश गरे पनि मुलुकमा सडक सञ्जाल विस्तार भए पनि अझै पनि मुलुकका अधिकांश भाग दुर्गम अनि विकट भएकाले र हाम्रो प्रयोग कम हुने सम्भावना भने अझै केही समय रहने देखिन्छ ।

कृषिका लागि जैविक मलको स्रोत पशुपक्षीबाट प्राप्त हुने मलमूत्रले अन्न, फलफूल र तरकारीखेतीका लागि भरपर्दो अनि उपयोगी पोषक तत्वयुक्त खाद्यको रुपमा आपूर्ति मात्र गर्दैन, माटोको उर्वराशक्ति नवीकरण गर्दछ । साथै वन्य पैदावरको उत्पादन वृद्धि गरी थप आयआर्जनको स्थिति सृृजना गरी थप पौष्टिक खाद्य सुरक्षाको सुनिश्चितता गर्दछ । त्यसैले त लिज होल्ड फरेष्ट्री कार्यक्रम नै सञ्चालन भएको छ भने आज हाम्रो समग्र कृषि प्रणाली मिश्रित भएको छ । हाम्रो मुलुकको परिवेशमा प्राकृतिक वनजंगलको पहुँच भएको क्षेत्रमा गाईभैंसीबाट प्राप्त हुने गोबर गार्हस्थ्य ऊर्जाको भरपर्दो स्रोत रुपमा सुकाएर तयार पारिएको गुँइठा मानिन्छ । साथै सीमान्तकृत अनि विपन्न पहिला समुदायको भरपर्दो आर्थिक स्रोत पनि तर यसरी बोटबिरुवाको लागि चाहिने पोषण तत्वको दुरुपयोगले बोटबिरुवाका लागि पोषण न्यूनता अनि रासायनिक मलको आपूर्तिको सुनिश्चितता नहुने हाम्रो जस्तो मुलुकमा अन्नबालीजन्य उत्पादनमा हुने ह्रासले खाद्य सुरक्षको स्थितिलाई प्रोत्साहन गर्छ ।

गोबर ग्यास उत्पादनलाई ग्रामीण क्षेत्रमा व्यापक प्रोत्साहन गर्ने हो भने गार्हस्थ ऊर्जाका लागि पशुपक्षीको मलमूत्रको दुरुपयोग अनि वनजंगल विनाश मात्र रोकिन्न, बरु जैविक मलको सर्वसुलभतासहित ग्रामीण क्षेत्रमा थप आयआर्जनका लागि सम्भावना मात्र बाटो खोल्दैन । ग्रामीण सीमान्तकृत जातिजनजातिको क्रयशक्ति वृद्धि गरी पोषणयुक्त भोजन खरिद क्षमता वृद्धि गरी खाद्यसुरक्षाको सुनिश्चितता गराउन मद्दत पु¥याउँछ । यसका साथै डिजेल, पेट्रोलको हाहाकार झेल्नुपर्ने अनि लोडसेडिङको भार खेप्नु हाम्रो जस्तो मुलुकको लागि बत्ती बाल्ने, पानी तताउने अनि अन्य यान्त्रिक साधनमा प्रयोग गर्न पनि सघाउँछ । जसबाट उपरोक्त कार्यका लागि खर्चिनुपर्ने व्यय बचत भई बरु पोषणयुक्त खाद्यपदार्थतर्फ समुदाय अग्रसर हुनेछन् । जसले खाद्य सुरक्षामात्र हैन, खाद्य स्वस्थताको सुनिश्चितता गराउँछ ।
पशुपक्षीजन्य उपजको पुनः प्रयोगबाट हुने फाइदा अनि औद्योगिक प्रयोगबाट हुने थप आयआर्जनले गरिब ग्रामीण क्षेत्रको आर्थिक समृद्धिबाट हामी आफैँ अनभिज्ञ छौं । उदाहरणका लागि बंगुरको गोबर माछाको लागि दानाकै रुपमा प्रयोग गर्न सकिन्छ । कुखुरा खोरको सोत्तर प्रयोग गर्ने हो भने त्यो युरिया मल नपाउने कृषि सामग्री संस्थानमा किन हप्ता कुरेर समय खर्च गर्ने ? यसैले त यिनलाई पशुधन भनिन्छ ।

भनिन्छ पशुपक्षीजन्य उत्पादनको प्रयोगको उपभोगको वृद्धि आम जनसमुदायको आय स्तरको वृद्धिको मापक पनि हो । त्यसैले आज हाम्रो आफ्नै परिवेशमा ग्रामीण तथा सहरी क्षेत्रमा अन्नजन्य उत्पादनको खपत त घट्दो छ तर मासु, दूध अनि फूलको खपत बढ्दो छ । यसको ज्वलन्त उदाहरण काठमाडौं दरबारमार्गमा खुलेको के.एफ.सी. तथा विभिन्न ठाउँमा खुलेको पसल मात्र हैन, हाम्रा आफ्नै चमेनागृहले देखाउँछ । यसले आजभन्दा बढी पशुपक्षीपालन व्यवसाय विस्तार गर्नुपर्ने देखिन्छ । जसले हाम्रो आफ्नो गार्हस्थ्य खपत त धान्नैपर्ला, त्यसबाहेक बाह्य बजारमा हाम्रा आफ्नो मौलिक पशुजन्य पदार्थ बजारीकरण गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिएला । आज हाम्रो आफ्नो परिवेशमा पशुपालन क्षेत्रका समग्र पक्षमा हामी निर्वाहमुखी अवस्थाबाट व्यवसायीकरणतर्फ उन्मुख छौं । बजारको समस्या त छन् नै तर आज सजग उपभोक्ता यसको स्वच्छता, शुद्धता अनि स्वस्थताका लागि प्रश्न उठाएका छन् । यसबारे हाम्रा पूर्वाधार, प्रविधि, प्राविधिक, आर्थिक स्रोत अनि नियमन अनुगमनको व्यवस्थापनप्रति प्रतिबद्धताको खाँचो छ । अनि मात्र खाद्यसुरक्षा मात्र हैन खाद्य स्वस्थताको सुरक्षा प्रत्याभूति गर्न सकिन्छ । – डा. केदार कार्की

प्रकाशित मिति: बिहिबार, पुस २३, २०७२