शनिबार, बैशाख ८, २०८१

सिन्धुपाल्चोकमा धान उत्पादन घट्यो

सिन्धुपाल्चेक, २१ पुस । पर्याप्त वर्षा नहुँदा र भूकम्पले पारेको जनधनको क्षतिले गर्दा किसानले बीउ समयमा नै राख्न नसकेका कारण रोपाइँ हुन नसकेपछि उत्पादनमा कमी आएको छ । धान उत्पादन लगायत कृषि क्षेत्रमा आएका ह्रासले अहिले चामल किन्नु पर्दा जिल्लाबासीले ठुलो समस्यामा परेको महसुस गर्न थालेका छन् ।
जिल्लाको १२ हजार २३५ हेक्टर जमिन मध्ये एक हजार ९९७ हेक्टर क्षेत्रफलमा धानखेती नभएकोले उत्पादनमा कमी आएको कृषि विकास कार्यालयका बाली अधिकृत हेमशर्मा तिवारीले बताएका छन् । आव २०७१÷७२ मा खेती भएको १२ हजार २३५ हेक्टर क्षेत्रफलमा २८ हजार ४८६ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यो वर्ष जिल्लामा २१ हजार ५८३ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क कार्यालयसँग छ । यो गत वर्षको तुलनामा छ हजार ९०० मेट्रिक टन कम हो । यो वर्ष १० हजार २७८ हेक्टरमा मात्रै धानबाली लगाइएको थियो । भूकम्पपछि पानीको मुल सरेको, सुख्खा खडेरी भएको, भूकम्पले जमिनमा धाँजा फाँटेको र बीउ समयमा राख्न नसकेकाले खेती हुन नसक्दा धान उत्पादनमा कमी आएको हो ।

प्रकाशित मिति: मङ्लबार, पुस २१, २०७२