शुक्रबार, बैशाख ७, २०८१

सुन्तला उत्पादन घटेपछि निराश

इलाम,  २० पुस । ‘गोल्डेन भ्याली’ भनेर चिनिने इलामको जिर्मले गाविसस्थित सलकपुरका किसान यो बर्ष सुन्तला उत्पादन घटेपछि निराश भएका छन् । सुन्तलाको पकेट क्षेत्रको रूपमा चिनिएको सलकपुरमा गतवर्षको तुलानामा आधाले नै उत्पादन घटेको हो ।

मौसमी रोग कीराको प्रकोप, सुन्तलाको चिचिला लागेको बेला असिना आउनु र कृषकलाईसुन्तलाको मलखाद र विषादी प्रयोगको ज्ञान नहुनुले पनि उत्पादन घटेको हो ।

किसानका अनुसार गतवर्ष १० लाख रुपैयाँमा विक्री भएका सुन्तलाका बगान यो वर्ष मुस्किलले तीन लाख रुपैयाँमा मात्र बिक्री भएको छ । सुन्तला टिपेपछि यसमा आवश्यक मलखाद र रोग नियन्त्रणका लागि लगाईने विषादीको बारेमा जानकारी नभएको किसान बताउँछन् ।

जिल्ला कृषि बिकास कार्यालयका प्राविधिक समेत नजाने र किसानलाई आवश्यक सरसल्लाह नदिएका कारण रोग नियन्त्रणमा समस्या भएको उनिहरूको गुनासो छ ।

पछिल्लो समय सुन्तलामा देखिएको सिट्रस ग्रिनिङ रोगका कारण सुन्तला टुप्पोबाट सुक्दै जाने, पात पहेंलिने र बोट नै पुरै सुक्ने समस्याले सुन्तलाको उत्पादन घटेको हो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार सुन्तलामा सिट्रस ग्रिनिङ नामक रोगका कारण यस वर्ष जिल्लामा १५  प्रतिशतसम्म उत्पादन घटेको छ । जिल्लाको तीन सय नौ हेक्टर क्षेत्रफलमा सुन्तला बगान रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, पुस २०, २०७२