शुक्रबार, चैत्र १६, २०८०

पोल्ट्रीको ६० अर्ब जोखिममा

चितवन, २० पुस। नेपालको पोल्ट्री व्यवसायमा भएको करिब ६० अर्ब लगानी जोखिममा परेको छ । भूकम्पले थलिएको यो व्यवसायलाई भारतीय नाकाबन्दीले झनै ठूलो चिन्ता थपेको छ । व्यवसायीका अनुसार नाकाबन्दीपछि दाना, औषधिलगायत वस्तु आयात ठप्प छ । आत्मनिर्भर यो क्षेत्र पुनः परनिर्भरताको दुष्चक्रमा फस्ने चिन्ताले व्यवसायीलाई सताएको छ ।
कुखुरापालन व्यवसायमा करिब ६० अर्ब रुपैयाँ लगानी भएको नेपाल कुखुरा व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष शंकर कँडेलले बताए । उनका अनुसार यो व्यवसायमा डेढ लाख जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।
“बजारको अवस्था अस्तव्यस्त भएकाले व्यवसायीहरू यो क्षेत्रबाट पलायन हुने अवस्थामा छन्,” पोल्ट्री कल्याणकारी संघ नेपालका अध्यक्ष तेजनारायण पाण्डे भन्छन्, “कहिलेसम्म थेग्नू ?”
पोल्ट्रीले देशको कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान दिएको दाबी व्यवसायीको छ । नेपालमा विशेषगरी मासुका लागि ब्रोइलर र अन्डाका लागि लेयर्स जातका कुखुरा पालिन्छ । लेयर्सको अन्डा खैरो रंगको हुने भएकाले भारतीय कुखुराले दिने सेतो अन्डाभन्दा भिन्न हुन्छ । अहिले अन्डा र मासु दुवैको मूल्य घटेको छ । यी दुवैमा नेपाल आत्मनिर्भर छ । चितवनलाई पोल्ट्रीको राजधानी मानिन्छ ।
“वैशाखको भूकम्प र मधेस आन्दोलनसँगै भारतको नाकाबन्दीका कारण यो व्यवसाय अहिले तहसनहस भएको छ,” पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराई भन्छन्, “भूकम्पपछि केही थला परे पनि यो व्यवसाय जुर्मुराउन थालेको थियो । अघिल्लो वर्षको भन्दा २० प्रतिशतले वृद्धि हुने सम्भावना देखिएको थियो । अहिले सबै चकनाचुर भयो ।”
नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी नाकाबन्दी र आन्दोलनका कारण अन्डा उत्पादन कम्तीमा ७० प्रतिशत घटेको बताउँछन् । नाकाबन्दीपछि अन्डा उत्पादन घटेर दैनिक १८ लाख गोटामा सीमित भएको छ, जबकि सामान्य अवस्थामा ४३ लाख गोटा उत्पादन हुन्थे ।

प्रकाशित मिति: सोमवार, पुस २०, २०७२