काठमाडौं । कृषि विकास मन्त्रालयलाई फुटाएर पशु विकास मन्त्रालय बने लगतै पशु सेवा अन्तर्गत काम गर्ने संघसंस्थाहरुले सरकारलाई धन्यवाद दिंदै पशु विकास मन्त्रालयको प्रगतिको कामना त गरे । तर, मन्त्रालयको विभाजन भएर मन्त्रीहरुले पद बहाली गरेको साता दिन पनि नवित्दै पशु विकास मन्त्रालयको जिम्मेवारीका विषयमा सत्ता साझेदार एमाले र एमाओवादीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच घम्साघम्सी परेको छ ।
एमाओवादीको भागमा परेको कृषि विकास मन्त्रालयको जिम्मेवारी पाएका दाहालका अत्यन्तै निकट मन्त्री हरिबोल प्रसाद गजुरेल केही दिन अगाडि मात्र मन्त्रालय फुटाएको निहुंमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । गजुरेलले मन्त्रालय फुटाएको विषयमा आफूलाई जानकारी नदिएको भन्दै रुष्ट बनेपछि ओलीले आफ्नै अध्यक्षलाई गएर भन्न सल्लाह दिएका थिए । त्यसको केही दिन पनि वित्न नपाउंदै कृषि विकास मन्त्रालय आफ्नै पेवा जस्तो गर्न लागेका दर्जन सल्लाहकारहरुको घेराभित्र रहेको कृषि मन्त्री गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई क्रुद्ध बनाई प्रधानमन्त्री केपी शर्मा ओलीसंगको सम्वन्धलाई तुषारापात ल्याईदिएका छन् ।
पशु विकास मन्त्रालय छुट्याएपछि रीसले आगो बनेका हरिवोल प्रसाद गजुरेल जसरी हुन्छ मन्त्रालय गाभ्ने लविङ्ग गरिरहेको बुझिएको छ । त्यसका लागि पशु ऐनले तोकेको र अन्तर्राष्ट्रिय नियम अनुसार पनि मौरी तथा मत्स्य विकासलाई पशु सेवा अन्तर्गत नै राखिएकाले त्यसो हुन नदिन पुष्पकमल दाहाललाई रुवाई कराई गरिएको बुझिएको छ ।
पशु विकास मन्त्रालयको नाम संशोधन गरी पशुपंक्षी तथा मत्स्य विकास मन्त्रालय नामाकरण गर्ने अन्तिम निर्णयको तयारी हुंदा त्यसलाई रोक्न कृषि मन्त्री गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अनुरोध गरेका थिए । फलस्वरुव पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली वीच यही विषयलाई लिएर घम्साघम्सी परेको थियो । मौरी र मत्स्यलाई कृषि विकास मन्त्रालयबाट अलग गरी पशु विकास मन्त्रालयमा राखिए एमाओवादी सरकारबाट अलग हुने चेतावनी दाहालले दिएपछि मौरी र मत्स्य सेवा कृषि विकास मन्त्रालयकै मातहतमा रहने भएको छ ।
मत्स्य र मौरीलाई पशु विकास मन्त्रालयमा रहेको भए पशु सेवा विभाग जस्तै मत्स्य विकास विभाग स्थापनाको तयारी गरिरहेका बेला ओली र प्रचण्डको घम्साघम्सीका कारण सो निर्णय तुहिएको छ । जसले गर्दा पशु सेवामा काम गरिरहेका पशु अधिकारकर्मीहरु हतोत्साही बनेका छन् । ऐन नियमलाई समेत लत्याउंदै मौरी र मत्स्यलाई कृषि विकास मन्त्रालय भित्रै जर्वजस्त रुपमा राखिएपछि यस सेवामा कार्यरत कर्मचारीहरु समेत मन्त्री गजुरेलप्रति रुष्ट बनेका छन् ।
कृषि मन्त्रालय फुटाएको विषयमा ओली र प्रचण्डको घम्साघम्सी

Add Comment