काठमाडौं । आफू नरम र सोझो भएको भन्दै सोझा व्यक्ति र इमान्दारितामा अगाडि बढ्नेहरुलाई हेप्ने प्रबृत्ति बढेकाले त्यस्तो कार्य नगर्न पशु सेवा विभाग मातहतका कर्मचारीहरुलाई पशु विकास मन्त्री शान्ता मानवीले चेतावनी दिएकी छिन् । पशु सेवा विभागले आयोजना गरेको ‘व्रिफिङ’ कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री मानवीले सो कुरा बताएकी हुन् ।
पशु विकास मन्त्रालय नयां मन्त्रालय भएपनि पशु सेवा विभागले विगतका दिनहरुमा गरेका कामहरुको उपलब्धीहरुलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने भएकाले त्यसको थप जिम्मेवारी मन्त्रालय मातहतका कर्मचारीहरुलाई आएको समेत उनले बताईन् ।
विगतमा बर्डफ्लु पीडितहरुले सरकारबाट पाएको भनिएको क्षतिपूर्ति नाममात्र भएकाले वास्तवमा त्यसबेला किसानहरुले उचित क्षतिपूर्ति नपाएको खुलासा मन्त्री मानवीले गरिन् । मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको पशु पालन क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी भएको भन्दै पशुपालन व्यवसायले नै वैदेशिक रोजगारीबाट फर्केकालाई रोजगारीको मार्ग देखाउन सकिने एवं बेरोजगारहरुलाई पनि पशु पालन व्यवसायबाट नै रोजगारी दिन सकिने बताइन् ।
कार्यक्रममा पशु विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले पशु विकास मन्त्रालय भित्र मौरी, मत्स्य, रेशम खेती पनि पर्ने भएकाले यो पशु पालन व्यवसायले नै नेपालको व्यापार घाटालाई घटाउन सक्ने बताए ।
कार्यक्रममा मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले दूध उत्पादनमा बृद्धि भएको भएपनि नाकावन्दीका कारण इन्धन अभावले गर्दा किसानहरुबाट दूध संकलन गर्न कठिनाई भईरहेको बताए ।
त्यस्तै पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमीले पशु सेवा विभागको अस्तित्व समाप्त पार्ने गरी पटक पटक यसलाई गाभ्ने र छुट्याउने गर्दैै आएको खुलासा गरे । नयाँ बनेका मन्त्रालयहरु मध्ये पशु विकास मन्त्रालय ग्रामिण तहसम्म आफ्ना पूर्वाधार र जनतालाई बेग्लै ढंगले सेवा दिन सक्ने मन्त्रालयमा रुपमा रहेको विस्तृत विवरण सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । साथै उनले राष्ट्रको आर्थिक मेरुदण्डको विकासका लागि यो मन्त्रालयले ठूलो भूमिका खेलिरहेको समेत बताए ।
नरम छ भनेर नहेप्न पशु विकास मन्त्रीको चेतावनी

Add Comment