मङ्लबार, बैशाख ४, २०८१

जैविक विषादीको प्रयोग बढ्दै

इलाम, १० पुस । किसानमा बढ्दै गएको चेतना र जैविक विषादीको सहज उपलब्धताका कारण इलाममा पछिल्लो समयमा रसायनिक विषादी प्रयोगमा कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार आव ०६९/७० मा एक हजार छ लिटर झोल र एक हजार १४९ किलोग्राम धुलो विषादीको प्रयोग भएकामा आव ०७१/७२ मा ९५२ लिटर झोल र ७३३ किलो धुलो रसायनिक विषादी प्रयोग भएको थियो ।

रसायनिक विषादीका कारण मानव स्वास्थ्यमा असर पर्न थालेपछि किसान जैविक विषादीतर्फ आकर्षित भएका हुन् । आव ०६८/६९ मा २९० लिटर जैविक विषादी प्रयोग गरिएकामा ०७०/७१ मा ४४५ लिटर जैविक विषादी प्रयोग भएको थियो ।

इलाममा तरकारी, फलफूल, चियामा सर्वोआयल, मल्टिनिम, एनिसोफाली, मेटाइजियम, ट्राइकोडर्मा भिरिडी विषादीको प्रयोग हुन्छ । चियामा मोनोक्रोटोफसजस्ता खतर्नाक विषादी प्रयोग गरिँदै आएकाले कन्याम, गोदक, दानाबारी गाविसमा मानिसमा छाला फुट्ने, क्यान्सर हुनेजस्ता लक्षण देखापर्न थालेको वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिए ।

‘घातक विषादीको प्रयोग निर्मूलीकरण गरौँ, खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौँ’ भन्ने नाराका साथ बुधबारदेखि इलाममा पनि विषादी प्रयोगमुक्त सप्ताह सुरु भएको छ ।

नेपालमा करिब एक हजार चार सय प्रकारका विषादी सूचीकृत भएका छन् । त्यसमध्ये क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस र इन्डोसल्फान र फोरेट भने प्रतिबन्धित छन्

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७२