बिहिबार, फाल्गुन १७, २०८०

पशु नश्ल सुधार कार्यक्रम, (A.I. Mission)उत्कृष्ट कार्यक्रम हो

lok natha
डा. लोक नाथ पौडेल
वरिष्ठ पशु विकास अधिकृत
पशु उत्पादन निर्देशनालय

० पशु नश्ल सुधार कार्यक्रम (A.I. Mission)  का मुख्य मुख्य उद्देश्यहरु के के हुन् ?
नेपालका करिब ७२ लाख गाईगोरु र ५१ लाख भैंसीराँगाहरुमध्ये करिब १५% गाईगोरु र २५–३०% भैंसीराँगाहरु मात्र उन्नत नश्लका छन् । दूध उत्पादनका हिसाबले हेर्दा स्थानीय गाईबाट केवल ४५० लि. प्रतिवेत प्रति जनावर र भैंसीबाट ८५० लि. प्रतिवेत प्रति जनावर दूधको उत्पादन हुने गर्दछ । जुन उन्नत नश्लका गाई र भैंसीको उत्पादन क्षमताका दृष्टिले अत्यन्तै कम हो । विदेशका कुरा नगरी नेपालकै उन्नत जनावरको उत्पादन क्षमतालाई हेर्ने हो भने पनि दूधालु गाई तथा भैंसीको जातीय सुधार कार्यक्रम, जुन पशु सेवा विभाग, केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालय र नेपाल कृषि अनुसन्धान परिषद्, पशु प्रजनन् महाशाखाको संयुक्त सहकार्यमा सञ्चालन भएको थियो, उक्त कार्यक्रममा दर्ता भएका उन्नत नश्लका गाईहरुको उच्चतम दूध उत्पादन ८,२६३ लिटर र औषत दूध उत्पादन करिब ३,००० लिटर प्रति जनावर प्रतिवेत भएको पाइएको थियो । त्यसैगरी नेपाल पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, खुमलटारबाट भएको अनुसन्धानले पनि स्थानीय गाईमा उन्नत जातको साँढेको विर्य प्रयोग गरी जन्मेको पहिलो पुस्ताका गाई (F1 Generation) बाट १,६५० लिटर प्रति जनावर प्रति वेत र यस्तै पहिलो पुस्ताको मुर्रा क्रस भैंसीबाट करिब १,५०० लि. प्रति जनावर प्रति वेत दूध उत्पादन हुन सक्ने देखाएको छ । यी परिणामहरुले दूध उत्पादन गर्ने क्षमता (उत्पादकत्व)मा अभिवृद्धि गर्न सकिने प्रचूर सम्भावनालाई उजगार गरेको पाइन्छ  । यिनै तथ्यहरुलाई मध्यनजर राखी ५ दशक भन्दा पहिलेदेखि नै सञ्चालन गरिएको पशु नश्ल सुधार कार्यक्रमले यति लामो समयसम्म पनि उल्लेखनीय प्रगति हाँसिल गर्न नसकेको यथार्थतालाई मनन् गरी पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालयले वि.सं. २०६८ सालदेखि पशु नश्ल सुधार कार्यक्रमलाई अभियानको रुपमा ल्याएको हो । यो अभियान कार्यक्रम, जसलाईA.I. Mission Program पनि भनिन्छ, यसका मुख्य उद्देश्यहरु भनेको पहिलो वर्ष २५ जिल्लाहरुबाट अभियान कार्यक्रम सुरु गरी क्रमशः जिल्लाको संख्या बढाउँदै वार्षिक थप १ लाखका दरले पशुहरुमा कृत्रिम गर्भाधानको संख्या बढाउने, स्थानीय जनावरहरुमा कृत्रिम गर्भाधान गर्न प्रोत्साहन गर्ने, नीजि तथा सरकारी कृत्रिम गर्भाधान प्राविधिकहरुको सेवा विस्तार र गुणात्मक सुधार ल्याउने, घुम्ती कृत्रिम गर्भाधान कार्यक्रम समेत सञ्चालन गर्ने, सामुदायिक पशु प्रजनन् सेवा केन्द्रहरुको समेत स्थापना गरी ५ वर्षमा हालको कृत्रिम गर्भाधानको Coverage ७% लाई बढाएर २०% सम्म पु¥याई जनावरहरुको दूध उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउनु नै हो ।
० पशु नश्ल सुधारले मात्र जनावरहरुको दूध उत्पादन क्षमतालाई वृद्धि गर्न सक्दछ त ?
जनावरहरुको उत्पादन क्षमतालाई वृद्धि गर्न जनावहरुको नश्ल सुधार, स्वास्थ्य, आहारा र व्यवस्थापनलाई साथसाथै सुधार गर्दै लैजानु पर्दछ । एकपक्षको मात्र विकास गर्दैमा पशुहरुको उत्पादन र उत्पादकत्वमा सुधार हुन सक्दैन । तथापी पशुहरुको नश्ल भन्ने यस्तो पक्ष हो जुन एकपटक सुधार गरेपछि सो जनावरको जीवनभरका लागि स्थायी हुन्छ भने पशु स्वास्थ्य, आहारा र व्यवस्थापन भन्ने पक्षहरु चाहिँ दैनिक रुपमा फेरबदल भै रहने र दैनिक रुपमा हेरचाह गर्नु पर्ने विषयहरु हुन् । जतिसुकै राम्रो स्वास्थ्य, दानापानी र व्यवस्थापन भएतापनि राम्रो जात भएन भने जनावरहरुले अपेक्षा गरेजस्तो उत्पादन दिन नसक्ने र नश्ल सुधार एकपटक भएपछि जनावरहरुको जीवनभरका लागि स्थायी हुने भएकोले पशु प्रजनन् (नश्ल सुधार) ले बढी महत्व पाउनु स्वभाविकै हो ।
राम्रो नश्ललाई राम्रो हेरचाह, आहारविहार, व्यवस्थापनको आवश्यकता पर्ने भएकोले पशु सेवा विभागले विशेषगरी A.I. Mission कार्यक्रम लागु भएका जिल्लाहरुमा पशु आहारा विकास राष्ट्रिय अभियान कार्यक्रम (Forage Mission_), पशु स्वास्थ्य र व्यवस्थापन कार्यक्रमलाई पनि साथसाथै लिएर अगाडी बढिरहेको छ ।
० पशु नश्ल सुधार कार्यक्रम (AI Mission), २०६८ ले अपेक्षित लक्ष्य प्राप्त गर्न सकेको छ त ?
यो अभियान कार्यक्रम सुरु हुनुभन्दा अघिल्लो आ.व.(०६७/६८) मा केवल १,९५,५०१ जनावरहरुमा मात्र कृत्रिम गर्भाधान गर्न सकिएकोमा यो कार्यक्रम लागु हुनासाथ यो संख्यामा वृद्धि भै आ.व. २०६८/६९ मा २,६०,१६६, ०६९÷७० मा ३,७४,३२९, ०७०/७१ मा ४,४५,२५४ र ७१/७२ मा ४,८७,९१० जनावरहरुमा कृत्रिम गर्भाधान सेवा पु¥याइएको छ भने यो वर्ष करिब ५ लाख ५० हजार जनावरहरुमा सेवा पु¥याउने लक्ष्य राखिएको छ । यसैगरी निजी तथा सरकारी गरी करिब १५०० प्राविधिकहरु लाई कृत्रिम गर्भाधानसँग सम्बन्धित २ हप्ते तालिम दिई कृत्रिम गर्भाधान सेवालाई स्तरीय बनाउन प्रयास गरिएको छ । त्यसैगरी ८५० सामुदायिक पशु प्रजनन् केन्द्रहरुको व्यवस्था मिलाइएको छ भने कार्यक्रम लागु भएका ४५ जिल्ला पशु सेवा कार्यालयहरुका साथै कृत्रिम गर्भाधान केन्द्रहरुमा समेत कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने मेशिनरी सामान, ग्लोभ, सिथ, सिमेन र तरल नाइटूोजनको व्यवस्था मिलाइएको छ । त्यसैगरी राष्ट्रिय पशु प्रजनन् केन्द्र, पोखरामा रहेको विर्य संकलन तथा प्रशोधन प्रयोगशालालाई युरोपियन मापदण्ड बराबरको बनाइएको छ । यसरी हेर्दा पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमहरु मध्येको ।A.I. Mission कार्यक्रम आफैमा एक उत्कृष्ट र सफल कार्यक्रमका रुपमा स्थापित हुन सकेको छ ।
० यो कार्यक्रमलाई अझै प्रभावकारी र उदाहरणीय बनाउन के गर्नु पर्ला ?
एक सफल कार्यक्रमको रुपमा A.I. Mission कार्यक्रमलाई लिइएतापनि यसलाई अझै प्रभावकारी बनाई पशुपालन, विशेष गरी व्यवसायिक गाईभैंसीपालन पेशालाई अझै मर्यादित व्यवसायको रुपमा अगाडी बढाउनका लागि निम्नानुसारका कार्यहरु गर्नुपर्ने महसुस भएको छ ः
(क) उच्चस्तरीय राँगो/साँढे प्राप्त गर्नका लागि विशेषगरी वंशावलीमा आधारित क्षमताको अभिलेखीकरण
(Pedigree Performance Recording) प्रणाली, उन्नत जनावरबाट जन्मिएका सन्ततीहरुको क्षमताको अभिलेखीकरण (Progeny Performance Recording ) पद्धतिको विकास गर्ने ।
(ख) उत्कृष्ट र गुणक बथान (Elite and Multiplier Herd) को व्यवस्था मिलाउने ।
(ग) जर्सी तथा होलिस्टिन गाई र मुर्रा भैंसीपालक कृषक समूहको गठन, परिचालन तथा व्यवस्थापन गर्ने ।
(घ) यथार्थपरक रेकर्डमा आधारित भै विर्य संकलनका लागि राँगो/साँढेको छनौट गर्ने ।
(ङ) भ्रुण प्रत्यारोपण  (Embryo Transfer) कार्यक्रमका लागि पूर्व तयारी गरी सेवाको सञ्चालन गर्ने ।
(च) उच्चस्तरीय विर्यको उत्पादन गरी छिमेकी मुलुकका साथै अन्य मुलुकमा समेत निर्यात गर्ने ।
(छ) सरकारी क्षेत्रबाट क्रमशः निजीक्षेत्रमा कृत्रिम गर्भाधान सेवा कार्यक्रमलाई हस्तान्तरण गर्न नीतिगत व्यवस्थाका लागि  ।पहल गर्ने
(ज) हालसम्म पनि हाम्रो देशमा पशु प्रजनन् नीति नभएको कारणले Farm Animal Genetic Resources Management and Utilization: Policy and Strategy Draft Report, October, 1997 लाई आधार मानी पशु प्रजननसँग सम्बन्धित कार्यक्रमलाई सञ्चालन गरिएकोमा पशु उत्पादन निर्देशनालय, पशु सेवा विभागले यसै कार्यक्रमलाई समेत आधार मानी पशु प्रजनन् नीति ल्याउन पहल गर्ने ।
यी माथि उल्लेखित बुँदाहरुलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न सकिएमा कृत्रिम गर्भाधान अभियान कार्यक्रम निश्चय नै अझै प्रभावकारी र उदाहरणीय कार्यक्रमका रुपमा स्थापित हुन सक्दछ ।

प्रकाशित मिति: शनिबार, पुस ४, २०७२