शुक्रबार, चैत्र १६, २०८०

सल्लाहकारको घेराभित्र कृषिमन्त्री पार्टी निकट कर्मचारी रुष्ट

काठमाडौं । कृषि विकास मन्त्री हरिबोल गजुरेलले केही दिन अगाडि मात्र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने तीन बर्षे योजना ल्याएका थिए । मन्त्री गजुरेलले तीन बर्षभित्र आत्मनिर्भर बनाउने ल्याएको योजनाका कागजमा मात्र सिमित हुने कुरामा कृषि क्षेत्रका विज्ञहरु ढुक्क छन् । कृषि आत्मनिर्भर बनाउने सकिने भन्दै गरेका पूर्व मन्त्री हरिप्रसाद पराजुलीले अघि सारेका योजनालाई नै अहिले थोरै परिमार्जित गरी सोही कार्यक्रम अगाडि सार्न खोजेका गजुरेल आफ्नै कारण संकटमा पर्न थालिसकेका छन् ।
गजुरेल संकटमा पर्नुको मुख्य कारण भने अरु केही नभएर अहिले उनले पाईरहेको गलत सल्लाह हो भनेर एमाओवादी निकट कर्मचारीमा बहस चल्न थालेको छ । मन्त्री गजुरेलले गोप्य रुपमा सात जना सल्लाहकारतय गरेको तर मन्त्रालयमा कार्यरत कर्मचारी संगठनसँग कुनै पनि सल्लाह नलिएको भन्दै पार्टी निकट कर्मचारीहरु रुष्ट बनेका छन् । उनै अघोषित सल्लाहकारहरुको सल्लाहमा मन्त्री चल्न थालेको भन्दै कृषि विभागमा कार्यरत एमाओवादी निकट कर्मचारीहरुले विभागमा भेला नै डाकेको बुझिएको छ ।
विभाग परिसरमा बसेको सो भेलाले कृषि मन्त्री सल्लाहकारहरुको घेराबाट बाहिर निस्कन नसकेको भन्दै खेदव्यक्त गर्दै यसले एमाओवादी पार्टीकै वदनाम हुने समेत उनीहरुले बताएका छन् । कृषि विकास मन्त्रालयमा सांगठनिक रुपमा बलियो रहेको एमाले निकट कर्मचारीसंग भविष्यमा प्रतिष्पर्धा गर्न सकिने गरी कृषि विकास मन्त्रालयको काम कार्वाही अगाडि बढ्नु पर्ने भएपनि मन्त्री गजुरेललाई सल्लाहकारहरुले भ्रममा पारेर काम गरिरहेको समेत सो भेलाले निचोढ निकालेको छ ।
भेलामा सहभागी भएका एक सदस्यले भने आफूहरुको भविष्य नै कृषि विकास मन्त्रालय भएकाले दुईचार तीन आफ्नो स्वार्थपूर्ति गर्नका लागि बनाइएका सल्लाहकारले गर्ने निर्णय आफुहरुले अस्वीकार गर्ने निर्णय गरेको समेत बताए । यतिखेर कृषि विकास मन्त्री गजुरेलले आफ्नै पार्टी निकट कर्मचारी संगठनको सहयोग नपाउने देखिएको छ । मन्त्री गजुरेलको निजी सचिवालयमा शाखा अधिकृत स्तरको तलव खाने गरि नियुक्त भएका सल्लाहकार बीउ व्यापारी नगेन्द्र खड्काको व्यवहार प्रति पनि कर्मचारीहरु रुष्ट बनेका छन् ।
पूर्व मन्त्री हरिप्रसाद पराजुलीलाई त्यसबेला नै किसान आयोग गठन गरी आयोगको जिम्मेवार पद दिए आफू एमालेकै किसान महासंघमा सक्रिय हुने बताउने खड्का कै इशारामा गजुरेल चल्न थालेको समेत आरोप एमाओवादी निकट कृषिवि ज्ञहरु बीच चर्चा चल्न थालेको छ । त्यत्ति मात्र होइन सचिवालयमा सल्लाहकार सहित दर्जनभन्दा बढी व्यक्तिहरु राखिएको भन्दै मन्त्री कै पार्टी निकट कर्मचारीहरु यतिखेर सशंकित मात्र भएकाछैनन् मन्त्रीलाई नै सहयोग नगर्ने अवस्थामा पुगिसेका छन् ।
त्यत्तिमात्र होइन कर्मचारी संगठनले वर्तमान कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसीलाई हटाएर वरियताका क्रममा सिनियर सहसचिवलाई महानिर्देशक बनाउन आग्रह गरेको भएपनि मन्त्रीले नमानेको उनीहरुले बताएका छन् । महानिर्देशक जिसीले मन्त्रीले भनेका सवै कुरा मान्ने शर्त गरेकाले उनलाई नहटाउन नगेन्द्र खड्काले महत्वपूर्ण भूमिका खेलेको समेत उनीहरुले कृषिलाई बताएका छन् ।

प्रकाशित मिति: सोमवार, मंसिर २८, २०७२