शुक्रबार, चैत्र १६, २०८०

एग्रोभेट माथि छानविन खोइ ?

काठमाडौं,२७ मंसिर । कृषि क्षेत्रको व्यवसायिकरणले चर्को नारा लिईरहेका बेला कृषि किसानहरुको प्रत्यक्ष पहुंचमा रहेको एग्रोभेटहरुलाई छाडा छोडिएका कारण मुलुकको कृषि क्षेत्र जुनसुकै बेला पनि धरापमा पर्ने सम्भावना देखिएको छ । काठमाडौंमा रहेको अधिकांश एग्रोभेट डिलरहरु कानून विपरित सञ्चालन भईरहेका छन् भन्ने कुरा सम्वन्धित निकायलाई थाहा हुंदा हुंदै पनि कानमा तेल हालेर बसिरहेको देखिन्छ । कृषि विकास मन्त्रालयले विशेष गरी कीट नाशक औषधी विक्री वितरण गर्ने मात्र होइन पशु औषधीको आयाता एवं विक्री वितरण गर्ने एग्रोभेटहरुलाई तत्काल कानूनी दायरामा
ल्याउनु पर्ने देखिन्छ । कृषि विकास मन्त्रालयले एग्रोभेट सञ्चालकहरुलाइई कानूनी दायरामा नल्याएकै कारण यतिखेर किसानहरु मारमा परिरहेका छन् । पशुका औषधी विक्री वितरण गर्ने विक्रेताहरुको न्यूनतम शैक्षिक योग्यता वा तालिमको व्यवस्थालाई समेत ख्याल नगरी जसले पायो त्यसैले एग्रोभेट सञ्चानल गरी औषधीका नाममा विषादीहरु जथाभावी प्रयोग बढ्दै गएका कारण त्यसले ठूलो खतरा देखाईरहेको छ । अझ पशु औषधी विक्री वितरण गर्ने एग्रोभेटहरुको औषधी मूल्यमा समेत एकरुपता नहुंदा दैनिक लाखौ किसान मारमा परेका छन् । एग्रोभेटहरुलाई नियमन गर्ने निकायको पूर्ण रुपमा वेवास्ता गरेकै कारण यो अवस्था झन् झन् गम्भीर बन्दै गईरहेको छ । किसानमारा प्रबृत्तिमा रमाउंदै एग्रोभेट सञ्चालकहरु पनि आफू खुशी चलिरहेकाले त्यसलाई न्यूनतम मापदण्ड भित्र राखेर मात्र सञ्चालन गर्न दिने परिपाटी नबसालेसम्म किसानहरु मारमा पर्ने देखिन्छ । अहिले त्रिपुरेश्वर, टेक, कालीमाटी लगायतका क्षेत्रमा स्थापित एग्रोभेटका डिलरहरु नै गैरकानूनी रुपमा सञ्चालन भईरहेकोले सरोकारवाला निकायले ध्यान दिनु अति जरुरी छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २७, २०७२