मङ्लबार, बैशाख ११, २०८१

समिक्षाका नाममा कृषिको लाखौं बजेट खर्च

काठमाडौं । भारतले गरेको अघोषित नाकावन्दीका कारण रासायनिक मल अभाव, इन्धन अभाव, बीउ अभावमा पिल्सिएका किसानहरुको समस्यालाई समाधान गर्न तर्फ कृषि विकास मन्त्रालय, कृषि विभाग, क्षेत्रीय कृषि निर्देशनालय एवं जिल्ला कृषि कार्यालयहरुको सक्रियता बढ्नु पर्ने समयमा कृषि मन्त्रालयको उच्च अधिकारीहरु भने चौमासिक समिक्षा गोष्ठी भन्दै जिल्ला जिल्ला दौडिरहेका छन् । यतिखेर कृषि मन्त्रालयदेखि विभागसम्मका उच्च अधिकारीहरु कार्यालयहरु भेट्न मुश्किल पर्दछ । तीन बर्ष भित्र कृषि आत्भनिर्भर बन्ने योजना केही दिन अगाडि मात्र सार्वजनिक भएको भएपनि यस्तै गोष्ठीका नाममा लाखौं रुपैयां खर्च गरेर कृषिमा आत्मर्भिर हुने सपना सिसाको घर भन्दा फरक छैन भन्दा अत्युक्ति नहोला । ministry-of-agriculture
मुलुक यतिखेर गम्भीर संकटमा परिरहेको छ । गहुं छर्ने समय वित्न लागिसकेको छ । किसानहरुले रासायनिक मल सहज रुपमा पाउन सकिरहेका छैनन् । विशेष गरी भूकम्प पीडित किसानहरु अझ प्रताडित बनिरहेका छन् । कतिपय जिल्लामा भूकम्प पीडितहरुलाई बांडिएको धानका बीउले फल नदिंदा यो बर्ष उनीहरुलाई खाद्यान्न संकट पर्ने देखिएको छ । गुणस्तरहीन बीउ वितरण गर्नेलाई मन्त्रालयले ठोस कार्वाही गर्न नसक्दा अझ किसानहरु पीडामा परेका छन् । यस्तो अवस्थामा पांचै विकास क्षेत्रमा समिक्षा गोष्ठिका नाममा मन्त्रालयदेखि क्षेत्रीय कार्यालयसम्मका उच्च अधिकारीहरु जिल्ला दौडाहा पुगेका छन् । कागजी प्रगति प्रतिवेदन प्रस्तुत गरेर दैनिक भत्ता असुल्ने र जिल्लामा रमाईलो गर्न जाने बाहेक समिक्षा गोष्ठीले खासै उपलब्धी हुने संकेत देखिएको छैन ।
देशको विषय परिस्थितिलाई समेत मध्यनजर गर्ने हो भने समिक्षा गोष्ठिका सञ्चालन गर्नका लागि भ्रमणकै लागि खर्च गरिन लागिएको लाखौं रुपैयांको सार्थकतामाथि अहिले मन्त्रालय भित्रै प्रश्न उठ्न थालेको छ । यस्तो अवस्थामा समिक्षा गोष्ठिलाई स्थगन गर्नुपर्ने वा आआफ्नै जिल्लामा किसानसंग सरोकारवाला व्यक्तिहरु बसेर वर्तमान अवस्थामा किसानहरुले भोग्नु परेको समस्या समाधान गर्न तर्फ लाग्नु पर्ने तर्क धेरैले गरेपनि समिक्षा गोष्ठीका नाममा कर्मचारीहरु सवै क्षेत्रमा पुगिसकेको मन्त्रालयको छ । पांचै विकास क्षेत्रमा हुने गोष्ठीमा कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेल नै पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २५, २०७२