बिहिबार, बैशाख १३, २०८१

गर्भवती गराए राँगोको वर्षको कमाइ सत्तरी हजार

बागलुङ, २२ मङ्सिर । व्यावसायिक पशुपालनमा जिल्लाको दमेक–८ का भैरवप्रसाद सापकोटाले पालेको राँगोले वर्ष दिनमा रु ७० हजारभन्दा बढी कमाइ गर्ने गरेको छ ।
गाउँभरका भैँसी गर्भवती गराएबापत राँगोबाट सो आम्दानी सापकोटाको परिवारमा भित्रने गरेको छ । रु २४ हजारमा किनेको राँगोबाट वर्षदिन मै त्यसको तेब्बर आम्दानी हुन थालेपछि उनी राँगोपालनबाट सन्तुष्ट देखिएका छन् । अन्य किसानको गोठमै लगेर भैँसी गर्भवती बनाएमा रु छसय र आफ्नै गोठमा ल्याए रु पाँचसय लिने गरेको सापकोटाले बताए । rango final
“यो वर्षको हालसम्म ८५ वटा भैँसी राँगोबाट गर्भवती भइसकेका छन्” उनले भने । एक वर्षमा सयभन्दा बढी भैँसी गर्भवती हुने गरेका छन्, यो वर्षनै ८५ वटा भइसकेका छन्’ सापकोटाले भने ‘वर्षमा ७० देखि ८० हजारसम्म त यही राँगोबाट कमाइ हुन्छ ।’
स्याहार, दानापानीका हिसावले राँगोपालन खर्चिलो भएपनि त्यसबाट नियमित आम्दानी हुने उनको भनाइ छ । गाउँघरमा निकै कम राँगो पाल्ने चलन भएपछि भैँसी गर्भवतीको लागि एकै ठाउँमा धेरै किसान भरपर्नुपर्ने अवस्था छ । पहिले–पहिले भैँसी गर्भवती गराउँदा अन्न दिने गरिएपनि पछि नगदको चलन आएको सापकोटाले बताए । “राँगो पाल्दा खर्च बढ्नका साथै जोखिम पनि उत्तिकै हुन्छ” उनले बताए ।
किसानका गोठ–गोठमा लैंजादा झण्झट भएपनि त्यसको कमाइले त्यो दुःख पनि बिर्साइदिने गरेको सापकोटाको भनाइ छ । चार वर्षअघि व्यावसायिक पशुपालन सुरु गरेका उनको परिवारले सो पेशाबाट वार्षिक रु चार लाख आम्दानी गर्न सफल भएको छ । – रामबहादुर थापा

प्रकाशित मिति: मङ्लबार, मंसिर २२, २०७२