शुक्रबार, चैत्र १६, २०८०

पर्वतबाट शुरु भयो जग्गा बाँझो नराख्ने अभियान

पर्वत, २० मंसिर । बढ्दो युवा पलायनका कारण खेतवारी बाँझै रहने अवस्था र भारतले गरेको नाकाबन्दीको कारण भइरहेको खाद्यान्न अभावलाई मध्यनजर गर्दै जिल्लामा जग्गा बाँझो नराख्ने अभियान सुरु भएको छ ।
जिल्ला कृषि विकास कार्यालय र जिल्ला उद्योग बाणिज्य सङ्घ तथा विभिन्न कृषि सहकारीको पहलमा बाँझो जमिनमा बालीनाली लगाउन थालिएको हो । माटो दिवसको अवसरमा शनिबारदेखि कुश्मा नगरपालिका–१२ स्थित चुवाबाट सो अभियानको थालनी गरिएको छ । अभियानको शुरुवात सांसद कल्पना चापागाइँले हलो जोतेर गरेकी थिइन् । सो अवसरमा सांसद चापागाइँले बाँझो रहेको जमिनमा अन्नबाली लगाउन सके सँधैभरी अन्य मुलुकको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने बताइन् । बाझिँदै गरेको खेतवारीलाई सदुपयोग गरी अन्नबाली उत्पादन हुन सके खाद्यान्न संकटलाई हल गर्न सकिने विश्वासले अभियान थालिएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए ।

प्रकाशित मिति: आइतवार, मंसिर २०, २०७२