बुधबार, बैशाख १२, २०८१

२५ हजार मेट्रिक टन रासायनिक मल बन्दरगाहमै

वीरगन्ज । साढे तीन महिनादेखिको जारी बन्द हडतालले ढुवानी सेवा प्रभावित भएर गन्तव्यसम्म जान नपाएपछि बन्दरगाहमा करिब २५ हजार मेट्रिक टन रासायनिक मल थन्किएको हो । भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एक मात्र यो सुक्खा बन्दरगाहमा भारतबाट मालबाहक रेलमार्फत आइपुगेका रासायनिक मल बन्दका कारण गन्तव्यसम्म जान पाएको छैन । कात्तिक १९ गतेयता करिब दुई लाख ५० हजार ट्रक मालसामान निकासी भएको बन्दरगाहले जनाएको छ । mal
ग्लोबल टेन्डरमार्फत कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ कर्पोरेसनले उक्त मल आयात गरी नेपाल भित्रयाएका हुन् । कृषि सामग्री कम्पनीले चालु आर्थिक वर्षमा साउनयता २३ हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी गरी ३८ हजार मेट्रिक टन तथा साल्टट्रेडिङ कर्पोरेसनले १५ हजार मेट्रिक टन युरिया मल आयात गरेका हुन् ।
आयात गरी बन्दरगाहमा ल्याएका मलमध्ये कृषि सामग्री कम्पनीले अहिलेसम्म आठ हजार ४०० मेट्रिक टन युरिया र ९ हजार १०० मेट्रिक टन डिएपी गरी कुल १७ हजार ५०० मेट्रिक टन मल गन्तव्यसम्म पठाइएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्दबहादुर कार्कीले जानकारी दिएका छन् । अहिले कम्पनीको २० हजार ४०० मेट्रिक टन रासायनिक मल बन्दरगाह परिसरमै थन्किएको अवस्थामा छ”उनले भने । बन्दका कारण ढुवानी पूर्णरूपमा ठप्प हुँदा मल गन्तव्यसम्म जान सकेको छैन ।
गहँु छर्ने मुख्य समयमा किसानको मलको आवश्यकतालाई महसुस गरेर आन्दोलनकारीले मलको ढुवानीमा केही खुकुलो पारेका छन् । किसानले धान भित्र्याएपछि आलु, गहुँका साथै अन्यखेतीका लागि पर्याप्त मात्रामा रासायनिक मलको माग गर्न थालेका छन् ।
रासायनिक मलको अभाव भएपछि गहुँ उत्पादनमा असर पर्ने कृषि विज्ञहरुले बताउन थालेका छन् । हिउँदमा गरिने खेतीका लागि बारा, पर्सा र रौतहटमा करिब १२ हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्ने क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १८, २०७२