बिहिबार, बैशाख १३, २०८१

सुर्खेतमा धान उत्पादन घट्यो

सुर्खेत, १३ मंसिर । सुर्खेतमा यस वर्ष धानको उत्पादनमा कमी आएको छ । गतवर्षको तुलनामा यस वर्षमा १५ प्रतिशतले धानको उत्पादन घटेको छ । धान रोपाइँको समयमा पर्याप्त वर्षा नभएका कारण उत्पादनमा कमी आएको हो । समयमा पानी नपरेकाले बेर्ना तयार भइसक्दा पनि रोपाइँ हुन नसकेको कारण धान उत्पादनमा कमी आएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आ.व. ०७१/७२ मा १३ हजार २ सय ५२ हेक्टरमा ४२ हजार ८ सय ३ मेट्रिक टन उत्पादन भएको छ । यस्तै, आ.व. ०७०/७१ मा १४ हजार ६ सय हेक्टरमा ५९ हजार ३ सय २२ मेट्रिक टन उत्पादन भएको थियो । आ.व. ०७०÷७१ को तुलनामा ७१÷७२ मा एक हजार तीन सय ४८ हेक्टर जमिन बाँझो रहेको थियो भने, १५ प्रतिशतले धानको उत्पादन घटेको स्रोतले जनाएको छ । धान उत्पादनका लागि जिल्लाका लाटिकोइली, उत्तरगंगा, लेखफर्सा, गुमी, गुटु, छिन्चु बाबियाचौर, कुनाथरी लगायतका गाविस मुख्य पकेट क्षेत्र मानिन्छ । जिल्लामा राधा ४, राधा ७, सुख्खा १ सुख्खा २, डाडामसुरी, वीन्देश्वरी, रामधान, स्थानीय वास्मतीलगायतको धान व्यापक रुपमा लगाउने गरिएको छ । किसानहरूमा खेतीमा अपनाइने उन्नत प्रविधीमार्फत खेती गर्दै आएपनि उत्पादनमा ह्रास आउदा किसानहरु चिन्तीत बनेका छन् । मुख्य अन्नबाली धानको उत्पादन घटेपछि जिल्लामा खाद्य सङ्कट नहुने जिल्ला कृषि बिकास कार्यलयका प्राविधिक सहायक यामलाल गिरीका बताए । यस वर्ष बाँझो रहेको जमिनमा समयमा पानी नपर्नाले गहुँको पनि उत्पादनमा पनि कमि आउने प्रविधिक गिरीको भनाई छ । उनले धानको उत्पादनमा कुनै पनि रोग देखा नपरे पनि प्रयाप्त सिंचाई सुविधा नभएका कारण उत्पादन कमि आएको बताए ।
पछिल्लो समयमा खेतीयोग्य जमिन प्लटिङ् गर्ने प्रवृत्ति बढेकाले क्षेत्रफल घट्दै गएकाले उत्पादनमा पनि प्रत्यक्ष असर पार्ने गरेको छ । धान उत्पादन हुने जग्गामा जथाभावी घर निर्माण र प्लटिङले र सिंचाईको व्यवस्थापन नमिलाउँदा कतिपय जग्गा बाँझिएकोले उत्पादनमा कमि आएको बताइएको छ । यस बाहेक जिल्लामा ढिलो रोपाई हुनु, समय समयमा प्रयाप्त वर्षा नहुनु जस्ता कारणले जिल्लामा धानको उत्पादन घटेको हो । पर्याप्त सिँचाइको सुविधा नहुँदा खेतीयोग्य जमीन बाँझै रहेको किसानहरूको गुनासो छ । सुर्खेतमा धान सहित मकै, गहुँ, कोदो लगायतका अन्य बाली तथा गेडागुडी उत्पादन हुने गर्दछ । -डिलप्रसाद शर्मा

प्रकाशित मिति: आइतवार, मंसिर १३, २०७२