शनिबार, बैशाख ८, २०८१

काभ्रेलाई बीउमा आत्मनिर्भर बनाउने तयारी

काभ्रे,१३ मंसिर । तरकारी उत्पादनका लागि विगतदेखि नै चर्चा बटुल्न सफल भएको काभ्रेपलाञ्चक जिल्लालाई विभिन्न किसिमका तरकारीको बीउमा आत्मनिर्भर बनाउन पहल थालिएको छ ।
जिल्लाको विभिन्न गाविसमा रहेका तरकारी बीउ उत्पादक कृषक सहकारी संस्थाले विभिन्न किसिमका तरकारीका बीउ उत्पादन गरेर काभ्रेपलाञ्चोकलाई तरकारी बीउ उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास भएको जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्लामा तरकारीका विभिन्न किसिमका बीउ उत्पादन भएका छन् तर बजारीकरणको ठूलो समस्या रहेको बताइएको छ । किसानहरुले नै सहकारी संस्थाबाट बीउ उत्पादन गरेर त्यसको प्रसोधन र प्याकेजिङसमेत गरेर बजारमा लगेर विक्री वितरण गर्दै आएको भएपनि बीउको बजारीकरणमा दलालको चलखेल भएको समेत आरोप लगाए । जिल्लामा तरकारीको बीउलाई आत्मनिर्भर बनाउन तरकारीको बीउ उत्पादन व्यापक बनाउनका लागि मूल बीउको संरक्षण गर्नु पर्नेमा किसानहरुले जोड दिएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा अनुमानित तरकारी बीउ मात्रै ५२ हजार १८६ किलोग्राम उत्पादन हुन्छ यसबाट रु. एक करोड २० लाख बरावरको आर्थिक कारोवार हुने गरेको छ । खास गरी सिमी, गोलभेडा, काउली, फर्सी, करेला, केराउ, पालुङे चमसुर, रायो, काक्रालगायतका तरकारीका बीउ काभ्रेपलाञ्चोक जिल्लाबाट उत्पादन हुने गरेको छ ।
जिल्लाबाट उत्पादन भएको तरकारीको बीउ भक्तपुर, ललितपुर, काठमाडौँलगायतका बजारमा समेत निर्यात भएको देखिन्छ । तर तरकारीको बीउमा पनि वर्णशङकर(हाइब्रिड) जातको बीउको समस्या देखिएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १३, २०७२