शुक्रबार, बैशाख ७, २०८१

२ अर्व ९ करोड ७५ लाखको उखु खेतमै

महोत्तरी । साँढे तीन महिनादेखि बन्द हडतालले महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिल सञ्चालनमा नआउँदा उखु किसानमा चिन्ता बढेको छ । महोत्तरी, सर्लाही, सिरहा र सर्लाहीका उखु किसानले खेतमा लगाएको रु दुई अर्ब नौ करौड ७५ लाख ५० हजार मूल्य आउने उखु मिलले क्रसिङ्ग गर्न सकेको छैन । आवश्यक पर्ने उखुको जुस (रस) तताउने पाइप लोड गरिएको सवारी साधन नाकामै रोकिदा मिल सञ्चालनमा आउन नसकेको हो । imagesमिलको मर्मतसम्भारको काम अन्तिम चरणमा पुगेको एभरेष्ट चिनी मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले बताए । उनले भने, ‘चिनी मिलको ९० प्रतिशत मर्मतको कार्य सम्पन्न भयो । तर जारी बन्दले आवश्यक यन्त्रका पाटपूर्जा महिनाँैदेखि नाकाबन्दीले सितामडीमा रोकिएको छ ।’ मिलको १० प्रतिशत काम नाकामा रोकिएको पाटपूर्जा आए भन्ने १० दिनमा नै चिनी मिललाई ट्राइल चेकजाँचको अवस्थामा ल्याउन सक्ने बताउँदै महाप्रबन्धक दासले चिनी उद्योग सञ्चालन गर्न सरकारले खाँसै चासो नदिएका कारण हजाराँ किसान समस्यामा पर्ने निश्चित रहेकोे बताए ।
गएको क्रसिङ्ग सिजन मङ्सिर १८ सुरु भएको थियो । तर, यस वर्ष दुई महिनादेखिको नाकाबन्दी र तीन महिनाभन्दा बढिको निरन्तरको बन्दले भारत हँुदै आउने सरसमान आउन नसक्दा चिनी मिल कहिले सञ्चालनमा आउने हो निश्चित छैन । महोत्तरी, सर्लाही, धनुषा, सिरहागरी चार जिल्लाका ३३ हजार १०० जना किसानले २७ हजार ६०० बिघा क्षेत्रफलमा लगाएको सो मुल्य बराबरको उखु क्रिसिङ्ग गर्न समस्या देखिएकोे एभरेष्ट चिनी मिल रामनगरका प्रमुख उखु प्रबन्धक पवनकुमार झाले बताए ।
यस बर्ष महोत्तरीका १५ हजार उखु कृषकले ११ हजार विघामा लगाएको २२ लाख क्वीन्टल उखु तयारी अवस्थामा खेतमा छ । तीन हजार क्षेत्रफलमा धनुषाका उखु किसानले गरेको उखु खेतीमा चार लाख ५० हजार क्विन्टल उखु तयारी छ ।
सर्लाहीका आठ हजार ६०० सय किसानले १० हजार १०० बिघामा लगाएको १५ लाख क्विन्टल उखु तयारी अवस्थामा रहेको प्रमुख उखु प्रबन्धक झाले बताए । त्यसैगरी सिरहाका पाँच हजार ६०० किसानले तीन हजार ५०० सय बिघा क्षेत्र फलमा लगाएको चार लाख गरी महोत्तरी, सर्लाही, धनुषा र सिरहाका चार जिल्लमा कुल ४५ लाख ५० हजार उखु तयारी अवस्थामा रहेको एभरेष्ट चिनी मिल रामनगरको तथ्याङ्कमा उल्लेख छ ।
यी चारै जिल्लामा लगाएको कुल उखु खेतीमध्ये ६५ प्रतिशत खुट्टी (एक पटक काटेर अर्को पटक उत्पादन लिन सकिने) र ३५ प्रतिशत मुरहन रहेको छ ।
गएको २०७१/२०७२ को क्रसिङ्ग सिजनमा एभरेष्ट मिलले ४९ लाख ५० हजार क्विन्टल उखु क्रसिङ्ग गरेको थियो । गएको बर्ष महोत्तरीबाट २५ लाख छ हजार क्विन्टल, धनुषाबाट छ लाख २९ हजार क्विन्टल, सिरहाबाट पाँच लाख ४२ हजार क्वीन्ट, सर्लाहीबाट १२ लाख २२ हजार क्विन्टल र रौतहटबाट ४० हजार क्विन्टल गरी सो परिमाण बराबरको उखु पेलेका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०७२