शुक्रबार, बैशाख ७, २०८१

भक्तपुरमा मल वितरण सुरु

भक्तपुर, ९ मङ्सिर । धान थन्क्याएर गहुँ छर्न तयार भएका किसानहरुले मल अभावका कारण गहुँ छर्न नपाएर चिन्तित बनिरहेका बेला भक्तपुरका किसानहरुलाई भने केही मात्रामा भएपनि राहत भएको छ । भक्तपुरमा बुधबार दिउँसोदेखि रासायनिक मल वितरण गरेपछि किसानमा खुशी छाएको छ । नाकावन्दीका कारण रासायनिक मलको अभावले किसानले गहुँ छर्न पाएका थिएनन् । भक्तपुर जिल्लामा रहेका विभिन्न सहकारी संस्थाले किसानलाई मल वितरण सुरु गरेपछि किसानहरुलाई थोरै मात्रामा भएपनि राहत मिलेको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाका अनुसार जिल्लाका लागि सात सय टन मल बिलिङ्ग भएर आउन थालेको छ ।
जिल्ला सहकारी सङ्घले एक हजार ६८० बोरा मल (यूरिया एक हजार २६० बोरा र डिएपी ४२० बोरा) वितरण गरेको छ । कुपन दिएर मल वितरण सुरु गरिएको सङ्घका अध्यक्ष सुरेन्द्रप्रताप शाहले बताए । । सङ्घले मात्रै गतवर्ष दश हजार बोरा मल वितरण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०७२