शनिबार, बैशाख ८, २०८१

नार्कका नयाँ हरिको हस्तक्षेप, सरुवामा खेल नियुक्ति रोक्न झेल

काठमाडौं । क्रान्तिकारी भूमिसुधारको वकालत गर्दै आएका एमाओवादी नेता हरिबोल प्रसाद गजुरेल कृषि मन्त्री भएर आए लगतै कृषिको विकासमा नयाँ पाइला चाल्ने आशा राखेका कृषि कर्ममा लाग्नेहरु फेरि निराश बन्न थालेका छन् । कृषि मन्त्री भएर आएदेखि नै मन्त्रालय मातहतका सवै निकाय तथा परियोजनाको विस्तृत विवरण लिएका गजुरेलले मन्त्री पद पाएको ढेढ महिना वित्न नपाउँदै मातहतका कार्यलयमा ठाडो हस्तक्षेप गरेका छन् । गजुरेलको हस्तक्षेपका कारण कृषि मन्त्रालय र मातहतका कार्यालयहरुले कृषिको नयाँ हरिका रुपमा उनलाई सम्वोधन गर्न थालेका छन् । नयाँ हरिका रुपमा कृषि मन्त्रालयका आएका विगतमा डा. बाबुराम भट्टराई निकट रहेका नेता एवं बर्तमान कृषि मन्त्री गजुरेलले नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)मा सरुवामा गरेका ठाडो हस्तक्षेपले उनको नियत उदाङ्गो हुन थालेको छ । 123नार्कको प्रशासन महाशाखामा प्रशासनिक व्यक्ति निर्देशक हुन प्रचलनलाई लत्याउंदै गजुरेलले मंसिर १५ गते अनिवार्य अवकाश हुन लागेका बैद्य माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन नार्क समितिका सल्लाहकार डा कृष्णप्रसाद पौडेललाई सो महाशाखामा सरुवा गरेपछि नार्कमा हल्लिखल्ली मच्चिएको छ । नार्क जस्तो गरिमामय संस्थामा प्रशासन तथा बैज्ञानिक समूहमा कार्यरत कर्मचारीहरुलाई आ आफ्नो क्षमता अनुरुप सोही समूहमा राखेर कृषि अनुसन्धानका लागि नयाँ गोरेटो कोर्दे गरेको अवस्थामा अवकाश हुन लागेका बैज्ञानिकलाई प्रशासनमा सरुवामा गर्नु राम्रो संकेत भने होइन । बैज्ञानिक डा. कृष्ण प्रसाद पौडेललाई प्रशासन महाशाखामा सरुवा गरेर प्रशासन समूहका नवीनप्रकाश पौडेललाई अन्यत्र सरुवा गरेपछि क्रान्तिकारी कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले बैज्ञानिकलाई प्रशासनमा सरुवा गर्ने र प्रशासन चलाईरुहेको व्यक्तिहरुलाई बैज्ञानिक बनाईदिएर कृषि अनुसन्धानमा नयां छलाङ्ग मार्ने हो कि भन्ने चर्चा नार्क तथा कृषि क्षेत्रमा नै चल्न थालेको छ ।
कृषि क्षेत्रको विकासका लागि अनुसन्धानका माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने नार्क र त्यसका कार्यरत बैज्ञानिक कर्मचारीहरुलाई अनुसन्धानको बाटोमा क्रियाशील गराउनु पर्नेमा प्रशासन महाशाखामा धकेल्ने मन्त्रीको निर्णयले नार्क अनुसन्धान गर्ने संस्था भन्दा पनि राजनीतिज्ञहरुको चलखेल गर्ने ठाउँ बन्न पुगेको छ ।
केही समय अगाडि नार्कमा गरिएको कर्मचारी भर्नालाई उनले लिखित पत्र पठाएर नियुक्ति पत्र दिन बाट रोकेका छन् । केही समय अगाडि मन्त्रालयमा आयोजित कार्यक्रममा आफूले राम्रो काम नगरे पार्टी अध्यक्षले फिर्ता बोलाउछु भनेको स्मरण गराएका गजुरेलले पहिलो गाँसमा नै ढुङ्गा भने झै नार्कका बैज्ञानिकलाई प्रशासनमा सरुवा गरेर देखाईदिएका छन् । यदि उनले कृषि आमूल परिवर्तन गर्नका लागि नार्क जस्तो संवेदनशील संस्थामा बैज्ञानिकहरुलाई बैज्ञानिक समूहमा नै र प्रशासनिक रुपमा क्षमतावान् कर्मचारीलाई प्रशासन समूहमा नै राख्नु जरुरी छ । अन्यथा गजुरेलको कृषिमा अहिले भने जस्तै नयाँ हरिका रुपमा परिचित भएर क्रान्तिकारी छलाङ्ग मार्ने बाहेक अरु केही पनि हुने छैन ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ८, २०७२