शुक्रबार, चैत्र १६, २०८०

किसानद्वारा कृषि चुनको प्रयोग

इलाम, ७ मंसिर । माटोमा बढ्दै गइरहेको अम्लीयपनाका कारण माटोको उर्वराशक्ति ह्रास हुँदै जान थालेपछि इलाम जिल्लाको पश्चिमी देउमाई नगरपालिकाका किसानले रासायनिक मल प्रयोगलाई घटाउँदै कृषि चुनको प्रयोग गर्न थालेका छन् ।
माटोको अवस्था सुधार गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले ढुवानीमा शतप्रतिशत अनुदानमा सेवा केन्द्रमार्फत किसानलाई कृषि चुन उपलब्ध गराएपछि कृषि चुनको प्रयाग बढ्न थालेको हो । अम्लीयपना घटाएर उर्वराशक्ति ह्रास हुन नदिन किसानले कृषि सेवा केन्द्र मङ्गलबारेबाट चुन लगेर प्रयोग थालेका हुन् ।
गत वर्ष धुसेनी, मङ्गलबारे क्षेत्रमा माटो परिक्षण गर्दा अम्लीयपना बढी पाइएकाले प्राविधिकले कृषि चुन प्रयोग गर्न सल्लाह दिएका थिए । सोही बमोजिम कार्यालयले ढुवानी अनुदानमा किसानलाई कृषि चुन उपलब्ध गराएको हो । किसानलाई सेवा केन्द्रबाट प्रतिकिलो रु पाँचमा चुन उपलब्ध गराएको छ ।

प्रकाशित मिति: सोमवार, मंसिर ७, २०७२